काठमाडौं – नेकपा एमालेको विवाद समाधान कार्यदलको बैठक आज पनि बस्ने भएको छ । बिहान साढे ११ बजे अर्थ मन्त्रालयमा बैठक बस्ने तय भएको नेता सुवास नेम्वाङले जानकारी दिनुभएको छ । एमाले भित्रको विवाद मिलाउन गठन भएको कार्यदलको प्रगति विगत १० दिन देखि शून्य अवस्थामा रहेको खुलासा भएका बेला फेरि बैठक बस्न लागेको हो ।

बिहीबार बिहान बसेको बैठकपछि बाहिरिने क्रममा वार्तामा रहेका नेताहरुले बेलुका सहमति हुने भनेर पत्रकारहरुलाई सकारात्मक संदेश दिएका थिए । तर बिहीबार बेलुका बसेको बैठक औपचारिक रुपमा नबसी सकिएपछि बाहिरिने क्रममा नेता घनश्याम भुसालले १० दिन यता कुनै प्रगति नभएको बताउनुभएको हो ।

सिंहदरबारस्थित अर्थ मन्त्रालयमा बिहिबार दोस्रो पटक बसेको बैठकमा प्रधानमन्त्री ओली पक्षका वार्ता सदस्य अर्थमन्त्री विष्णु पौडेल अनुपस्थित भएपछि विषय प्रवेश नै नगरी दुवै पक्षका नेताहरु बाहिरिएका थिए । बाहिरिने क्रममा नेता भुसालले भने, ‘हामी करिब १० दिनअघि जुन अवस्थामा थियौँ अहिले त्यहि अवस्थामा छौं । खास प्रगति गरेका छैनौं ।’ वार्ता समितिका अर्का सदस्य नेता सुवास नेम्वाङले आज शुक्रबार बिहान बस्ने बैठकले सहमतिसहित निष्कर्ष दिने बताउनुभएको छ ।