काठमाडौं – काठमाडौं उपत्यकाको परिचय रहेको काष्ठमण्डप सातौँ शताब्दीकै शैली र प्रविधि प्रयोग गरेर पुनःनिर्माण भैरहेको छ । ०७२ सालको भूकम्पबाट क्षतिग्रस्त काष्ठमण्डपको पुनःनिर्माणको काम अन्तिम चरणमा पुगेको छ । भूकम्पबाट क्षतिग्रस्त काष्ठमण्डपको पुनर्निर्माणको काम ०७५ को वैशाखबाट सुरु भएको थियो ।

उपभोक्ता समितिमार्फत पुरानै शैलीमा पुनर्निर्माणका भैरहेको काष्ठमण्डप पुनः निर्माणका लागि काठमाडौ महानगर पालिकाले काष्ठमण्डप पुनःनिर्माण समितिलाई चार चरणमा गरेर रु ११ करोड ५० लाख रकम उपलब्ध गराएको छ । अहिलेसम्म काष्ठमण्डप पुनःनिर्माण काम ९० प्रतिशत सम्पन्न भइसकेको काष्ठमण्डप पुनःनिर्माण समितिका संयोजक एवं प्रदेश सांसद राजेश शाक्यले जानकारी दिनुभयो । लकडाउन र निषेधाज्ञाको अवधिमा पनि स्वास्थ्य मापदण्डको पालना गर्दै र सकेसम्म भौतिक दूरी कायम गरी पुनःनिर्माणको कामलाई निरन्तरता दिएको संयोजक शाक्यले जानकारी दिनुभयो ।

सुरुमा निर्माणको लागि चाहिने काठको अन्यौलता रहे पनि उपभोक्ता समितिले बारा पर्सा रौतहटलगायतका तराईका जिल्लाबाट गोलाकाठ ल्याई हेटांैडामा चिरान गरेर काठमाडौं ल्याउने गरेको छ । काष्ठमण्डप पुनःनिर्माण प्रयोग भैरहेको माटो, इँटा र अन्य काठ पुरानो प्रयोग भइरहेको छ ।