काठमाडौं – भारतको नयाँ दिल्लीस्थित अपोलो अस्पतालमा उपचार गराइरहेका एमाले वरिष्ठ नेता झलनाथ खनालको सम्पूर्ण उपचार खर्च आफ्नो पार्टीले बेहोर्ने घोषणा गर्नुभएका प्रधानमन्त्री ओलीले त्यसविपरीत उहाँको उपचार सरकारले गर्ने गरी निर्णय गराउनुभएको छ । पछिल्लो समय ओलीले आफू पक्षीय केन्द्रीय कमिटी बैठकमा खनालको सम्पूर्ण उपचार खर्च पार्टीले बेहोर्ने घोषणा गर्नुभएको थियो । तर आज बिहीबार मुख्यसचिव शंकरदाश बैरागीको हस्ताक्षरसहित खनालको सम्पूर्ण उपचार खर्च सरकारले बेहोर्ने निर्णय सार्वजनिक भएको हो ।

निर्णयको ब्यहोरामा भनिएको छ,‘खनालको दिल्लीस्थित अपोलो अस्पतालमा उपचारका क्रममा लागेको सम्पूर्ण खर्च नेपाल सरकारले बेहोर्नुका साथै उक्त खर्च अर्थ मन्त्रालयको नाममा निकाशा दिने र परराष्ट्र मन्त्रालयले दिल्लीस्थित नेपाली दूतावासमा भुक्तानी गर्ने व्यवस्था गर्ने ।’ एमाले वरिष्ठ नेता खनाल मिर्गौलामा समस्या आएपछि हाल अपोलो अस्पतालमा उपचारमा रहनु भएको छ ।

पछिल्लो समय नेता खनाल ओलीका निर्णय र कार्यशैलीको विरुद्धमा अर्का वरिष्ठ नेता माधवकुमार नेपालसँगै उभिनुभएको छ । तर कोरोना सङ्क्रमणसँगै स्वास्थ्यमा थप जटिलता थपिएपछि खनाल उपचारका लागि नयाँ दिल्ली जानुभएको हो । त्यहाँबाट उहाँले पार्टी एकताको विकल्प नभएको सन्देश सार्वजनिक गर्नुभएको थियो ।