काठमाडौं – नेकपा एमालेको विवाद समाधान गर्न गठित मध्यान्ह् १२ बजेपछि सुरु भएको कार्यदलको बैठक आज साँझ ७ बजेसम्मका लागि स्थगित गरिएको छ । आजै सिंहदरबारमा बसेको बैठक साँझ पुनः बस्ने गरी स्थगित गरिएको हो ।

कार्यदलमा प्रधानमन्त्री केपी शर्मा ओलीका पक्षबाट संयोजक समेत रहेका नेता सुवास नेम्वाङले अहिलेलाई बैठक स्थगित गरिएको जानकारी दिनुभयो । उहाँले साँझ ७ बजे पुनः पार्टी भित्रका विवादहरुलाई समाधान गर्न आन्तरिक छलफलमा जुट्ने बताउनुभयो । उहाँले भन्नुभयो,“थोरै तयारी गर्नुपर्ने भो । त्यसका लागि बैठक ७ बजेसम्म स्थगित गरेका छौं । भरसक आजै निष्कर्षमा पु¥याउँछौँ । संयुक्त वक्तव्य सानो कुरा हो । हामी पार्टीलाई एकताबद्ध बनाउन लागिरहेका छौं । छलफल जारी छ, सकारात्मक छ, गम्भीर छ ।”

बैठकमा नेपाल पक्षबाट उपाध्यक्ष भीम रावलको नेतृत्वमा उपमहासचिव घनश्याम भुसाल, सचिव गोकर्ण बिष्ट, स्थायी कमिटीका सदस्य सुरेन्द्र पाण्डे, र रघुजी पन्त तथा भीम आचार्य लगायत ६ जना र ओली पक्ष बाट सुवासचन्द्र नेम्वाङको नेतृत्वमा,उपमहासचिव विष्णुप्रसाद पौडेल, सचिव प्रदीप ज्ञवाली, स्थायी कमिटी सदस्य शंकर पोखरेल र विष्णु रिमाललगायत ११ जना सहभागी थिए । बैठक स्थगित गरिएसँगै नेताहरु आन्तरिक छलफलमा जुटेका छन् ।