काठमाडौं – कोभिड–१९ विरुद्धको खोप ‘भेरोसेल’ नेपाल ल्याउन आजदेखि तीन उडान हुने भएको छ । नेपाल वायुसेवा निगमको बाइडबडी ए ३३० जहाजमार्फत आजदेखि साउन ८ गतेसम्म तीनवटा उडानमार्फत खोप ल्याउन लागिएको हो । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. कृष्णप्रसाद पौडेलले चीनबाट भेरोसेल खोप ल्याउन जहाज त्यसतर्फ जाने बताउनुभयो । सरकारले (जिटुजी)मार्फत चीनबाट खोप ल्याउन लागेको हो । उनकाअनुसार आज साँझ निगमको विमान खोप लिनका लागि चीन जाँदै छ । जहाजले भोलि खोप ल्याउने छ ।

असार ३१ गते पुनः बाइडबडी जहाज खोप लिन जाने र साउन १ गते तथा साउन ७ गते पुनः जहाज नेपालबाट गएर साउन ८ गते खोप ल्याउने छ । “आजदेखि तीनपटक जहाज खोप लिनका लागि चीन जाने छ । उहाँले भन्नुभयो–परिणाम ठूलो आउँछ तर कति आउँछ भन्ने यकिन छैन ।’ उहाँले पहिलोपटक खोप ल्याइसकेपछि मात्र कति मात्रा खोप नेपाल आएको यकिन हुने बताउनुभ्उको छ । चीनको सिनोफार्म कम्पनीबाट सरकारले भेरोसेल खोप खरिद गर्न लागेको हो । उहाँले खोप नेपाल आइसकेपछि ६० वर्ष मुनि उमेर समूहका मानिसलाई प्रथामिकताका आधारमा लगाउने बताउनुभयो । यस्तै सरकारलाई कोभ्याक्स सुविधामार्फत समेत छिट्टै खोप ल्याउने मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका प्रवक्ता डा. पौडेलले ६० लाख जनसङ्ख्यालाई पुग्ने खोप कोभ्याक्सले उपलब्ध गराउने प्रतिवद्धता अनुसार बाँकी खोप दिने तयारी गरिरहेको जानकारी दिए । यसअघि कोभ्याक्समार्फत तीन लाख ४८ हजार मात्र खोप आएको थियो । नेपालमा अहिलेसम्म ४२ लाख ४८ हजार खोप आएको छ । नेपालमा १८ वर्षभन्दा माथिका कुल दुई करोड २० लाख जनसङ्ख्यालाई खोप लगाउने लक्ष्य लिइएको छ । अहिलेसम्म आठ लाख ५१ हजार ३०० जनालाई दोस्रो मात्रा र २६ लाख ११ हजार ८ सय ७ जनालाई पहिलो मात्राको खोप प्रदान गरिएको छ । –रासस