काठमाडौं— लामो समयदेखि विवादको उल्झनमा रहको नेकपा एमालेको आन्तरिक किचलो समाधान हुने भएको छ । पार्टीका दुई हस्तीहरु अध्यक्ष खड्गप्रसाद शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच हिजो साँझ भएको भेटवार्ता र लामो छलफलभए पनि मिलन विन्दुमा पुग्नु भएको हो ।

हिजो बुधबार साँझ नक्सालस्थित एक तारे मेरियट होटलमा अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता नेपालबीच कुराकानी भएको थियो । त्यसपछि ओली र नेपालबीच मात्रै कुराकानी भएको थियो । दुवै शीर्ष नेताहरु सहमतिमा पुगेको र सहमितलाई आज अन्तिम रुप दिने विवाद समाधान कार्यदलका सदस्य तथा नेपाल पक्षका प्रभावशाली नेता सुरेन्द्र पाण्डेले बताउनु भएको छ ।


हिजो दुई शीर्ष नेताहरु एक्लै वार्ता गर्नुभन्दा अघि कार्यदलका सहस्यहरुसंग बसेर छलफल गरेपछि दुवै नेता छुट्टै बसेर एक्ला एक्लै छलफल भएको गर्नु भएको थियो । दुवै नेताहरुबीच सहमति भएपछि त्यसलाई मुर्तरुप आज बिहीबार विवाद समाधान कार्यदलको बैठक बस्ने र सहमतिको आधार बनाएर बैठकले टुङ्ग्याउने भनिएको छ ।


कुनै राजनीतिक सिद्धान्त, विचार र कार्यदिशाको मतभेदभन्दा पनि मुख्यतः अध्यक्ष ओली र वरिष्ठ नेता नेपालबीचको व्यक्तिगत टकरावले नै एमालेमा विग्रह आएको थियो । हिजो आफु पार्टीको सर्वेसर्वा हुँदा आफ्नो पक्षलाई पेलेको रिस साँध्दै आउनु भएका ओलीले पार्टी अध्यक्ष र प्रधानमन्त्री भए पछि माधवकुमार नेपाललाई पेल्दै आउनु भएको थियो । नेपालले पार्टीको नेतृत्व सम्हाल्दा अहिलेको जस्तो सतहमै कित्ताकाटको अवस्था थिएन र ओलीले जसरी नेपालले पार्टी भित्रको इतर पक्षलाई भित्तैमा पुर्याउने गरी पेल्नु भएको देखिएको थिएन ।


तात्कालीन नेकपा माओवादी केन्द्रसँग प्रतिनिधिसभा निर्वाचनमा कार्यगत एकता गर्दै २०७५ जेठ ३ गते मदन–आश्रितको स्मृति दिवसका दिन दुई पार्टीबीच एकता भएर नेपाल कम्युनिस्ट पार्टी (नेकपा) गठन भएको थियो । पार्टी एकता भएपछि झण्डै दुई तिहाइको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सरकार बन्यो । पार्टी एकता भएको एक वर्षपछि पार्टी अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओलीले अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधव नेपाललाई पेल्ने, आफ्नै अध्यक्षतामा बसेको बसेको सचिवालय र स्थायी कमिटीले गरेको निर्णण लत्याउँदै जाने प्रवृत्तिले पार्टीमा विवाद बढ्दै गयो । अन्ततः २३ गते सर्वोच्चको आदेशबाट एमाले र माओवादी ब्युतिएपछि दुई पार्टी पूर्ववत अवस्थामा फर्किए । तर नेकपा हुँदादेखि कै विवाद र तुसले ओली र नेपाल पक्षबीच चर्को मतभेद हुँदै पार्टी विभाजनको सङ्घारमा पुगेर बसेकोे थियो ।


पार्टी अध्यक्ष समेत रहनु भएको प्रधानमन्त्री ओलीले माधव नेपाललाई सार्वजनिक रुपमा तुच्छ शब्दले गाली गलौच गर्दै अब दुई पक्षबीच कसरी पार्टी एकता होलासम्म भन्ने अवस्था थियो । सार्वजनिक अभिव्यक्ति मार्फत् एकले अर्कोलाई खुइल्याउने सम्मका हर्कत् भए । यति हुँदासम्म पनि पार्टी फुट्न सक्ने अवस्था किन भएन भने सत्ताको बागडोर सम्हाल्नु भएका प्रधानमन्त्री पार्टीमा हाबी बन्दै जानु भयो । नेपाल पक्षले पार्टी विभाजन गरेर नयाँ पार्टी खोल्दा आफु पक्षका स्थानीय तहदेखि सांसदसम्मको पद जाने देखेपछि त्यसबाट आफुलाई हुन सक्ने सांगठनिक क्षतिलाई विश्लेषण गरेर नै नेपालले नयाँ पार्टी गठन गर्ने हिम्मत गर्न सक्नु भएन ।


यता अध्यक्ष ओलीलाई पनि अवस्था सहज थिएन । पार्टीमा नेपाल पक्षको सांगठनिक रुपमा राम्रै पकड छ । आफु सत्तामा भएर शक्तिको दुरुपयोग गर्दै ओलीले आफु खुसी एकलौटी हिसावले पार्टीलाई चलाइसकेको अवस्थामा भोलि सत्ताबाट बाहिरिए पछिको अवस्थालाई विश्लेषण गर्दै नेपाल पक्षलाई वास्तविक कारवाही गर्न सक्ने अवस्था थिएन । यसैले दुवै पक्षले एक अर्कालाई सिध्याउने कसरत गरेपनि त्यसले कानूनी र प्राविधिक रुपमा केही समस्या देखिए पछि यी दुई समूहबीच मिल्नुको विकल्प नदेखिए पछि मिल्ने अवस्थामा पुगेका हुन् ।


विवाद के थियो र सहमति के थियो भन्ने नै छैन । सिद्धान्त, विचार र कार्यदिशामा समस्या थियो भने यी दुई समूहबीच सहमति हुन थिएन । सत्ता र शक्तिका पुजारी दुवै पक्ष हुन् भन्ने अहिलेको सहमतिले पुष्टि गर्दछ । अनि दुवै नेताको व्यक्तिगत टकरावले एमाले करिव छ महिनासम्म आन्तरिक द्वन्द्वमै रुमलियो । यी दुई पक्षको विवादको तुस हट्न सक्ने अवस्था छैन । चर्केको हाँडी जस्तो नबनोस् ओली र नेपालको सहमति ।