काठमाडौं – देशभर सामान्यदेखि पूर्ण बदली रहि वर्षा हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । मौसमी प्रणालीमा आज बिहान प्रदेश १, वाग्मती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भैरहेको छ । आज दिउँसो प्रदेश १, प्रदेश २, वाग्मती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका केही स्थानमा मेघ गर्जन र चट्याङ्गसहित भारी वर्षाको सम्भावना रहेको छ ।


बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका एकदुई स्थानमा धेरै भारी वर्षाको पनि सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । आज दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ । प्रदेश १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका धेरै स्थानमा तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

विभागले आज सामान्यदेखि पूर्ण बदली रही देशका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जनाएको छ । लुम्बिनी, सुदूरपश्चिम प्रदेश र बागमती प्रदेशका थोरै स्थानमा मेघ गर्जन र चट्याङ्गसहित भारी वर्षाको सम्भावना रहेको छ । सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा धेरै भारी वर्षाको सम्भावना रहेको छ ।

भारी र धेरै भारी वर्षाको सम्भावना रहेका प्रदेशको पहाडी भू–भागमा भू–क्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको विभागले जनाएको छ । नदीनाला तथा खहरे खोलाहरुमा पानीको सतह बढ्न सक्ने तथा दैनिक जीवन र यातायात क्षेत्र प्रभावित हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन विभागले आग्रह गरेको छ ।