काठमडौं– पार्टीको नामाकरणसहित औपचारिक विभाजन हुन बाँकी जनता समाजवादी पार्टी (जसपा) को विवाद टुङ्ग्याउन निर्वाचन आयोगले ५ सदस्यीय इजलास गठन गरेको छ । जसपाको महन्थ ठाकुर र उपेन्द्र यादवबीचको विवाद, कारवाही र पार्टीको आधिकारिकता विषयमा धेरै लामो समयदेखि गलफति भै रहेको छ । जसपाको आधिकारिकता कुन पक्षले पाउने भन्ने टुङ्गो लगाउन निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेश थपलियाको नेतृत्वमा आयुक्तहरु ईश्वरी प्रसाद पौडेल, रामप्रसाद भण्डारी, जानकी कुमारी तुलाधर र सगुन शम्शेर जवरा सम्मिलित पाँच सदस्यीय इजलास गठन गरेको छ । उक्त कुराको जानकारी आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले दिनु भएको हो । प्रवक्ता श्रेष्ठका अनुसार दुई पक्षको विवाद टुङ्ग्याउन आगामी साउनको पहिलो हप्ता सुनुवाइ हुने भएको छ ।

सुनुवाइका लागि आगामी साउन ३ गते आइतबार दुबै पक्षलाई बोलाएको प्रवक्ता श्रेष्ठले जानकारी दिनुभयो । आयोगले जसपाका दुवै पक्षलाई कानुन व्यवसायी राख्ने भए साथै ल्याउन पनि भनिएको छ । जसपाको उपेन्द्र यादव पक्षले राजनीतिक दलसम्बन्धी ऐन २०७३ को दफा ४४ अनुसार पार्टीको आधिकारिकता विवाद टुङ्ग्याउन माग गर्दै आयोगका निवेदन दिएको थियो ।

सो ऐनअनुसार आयोगले हिजो असार २२ गते दुबै पक्षलाई बोलाएर सहमति जुटाउने प्रयास गरेको थियो । तर दुवै पक्ष अब एकै ठाउँमा बस्न नसकिने भने पछि पार्टीको आधिकारिकता कुन पक्षमा रहने भन्ने विषयको टुङ्गो लगाउन आयोगले सुनुवाइ प्रक्रिया थालिएको हो । मेलमिलापका लागि आयोगले हिजो जसपाका उपेन्द्र यादव पक्ष र महन्थ ठाकुरलाई आयोगमै बोलाएर छलफल गरेको र दुवै पक्षलाई एकै ठाउँमा मिलाउन सम्भव नभएकाले आधिकारिताको टुङ्गो लगाउन लागिएको हो ।