काठमाडौं–पाँच महिनादेखि विवादमै रुमलिएको सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी एमालेको विवाद टुङ्गिने भएको छ । एमालेका प्रवक्तासमेत रहेका ओली पक्षका नेता तथा एमाले विवाद समाधान कार्यदलका एक सदस्य प्रदीप ज्ञवालीले भोलिसम्म पार्टी एकतामा देखिएका अवरोधहरु हट्ने दाबी गर्नु भएको छ ।
तीन दिनदेखि लगातार बसेको उक्त कार्यदलको आज आज बुधबार सिंहदरबारमा बसेको बैठक सके लगतै पत्रकारहरुलाई संक्षिप्त प्रतिक्रिया दिनेक्रमा नेता ज्ञवालीले एकता हुने खुलासा गर्नुभएको हो । पछिल्ला तीन दिन लगातार बसेको कार्यदलको बैठक सकारात्मकउन्मुख रहेको भन्दै प्रवक्ता ज्ञवालीले आफुहरु एकताको अन्तिम चरण पुगेका छौं र भोलिसम्म टुङ्गो लाग्नेमा हामी विश्वस्त छौं’ भन्नुभएको छ ।
कार्यदलको उक्त बैठकमा अध्यक्ष केपी शर्मा ओली तर्फबाट सुवासचन्द्र नेम्वाङ र असन्तुष्ट समूहका नेता माधवकुमार नेपालको तर्फबाट डा.भीम रावलसहित पाँच÷पाँच जना गरी दश जना सदस्यहरु उपस्थित हुनुहुन्थ्यो ।
प्रधानमन्त्रीसमेत रहनुभएका पार्टी अध्यक्ष ओलीका काम कारवाही विरुद्ध अदालतमा परेका र अन्य केही मुद्दाहरुमा पराजय भोग्दै र पार्टी फुट्ने निश्चित प्रायः देखेपछि सोमबार कार्यदल ब्यूँताउनु भएको थियो । एमाले संस्थापन पक्षले वरिष्ठ नेता नेपालसहित कार्यदलका सदस्य भीम रावललगायत ११ जना नेताहरुलाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी कारवाही गरेको थियो । उक्त कारवाही पछि विवाद समाधान कार्यदलको अस्तित्वमा थिएन । अध्यक्ष ओलीले पुनः कार्यदल ब्यूँताएर पार्टीका विवाद समाधान गर्न तत्परता देखाउनु भएको हो ।
सोही क्रममा अध्यक्ष ओलीले असन्तुष्ट नेता नेपालसँग भेट्न चाहेको र दुई पटक टेलिफोन सम्बाद समेत गर्नुभए पछि एमालेको विवादले नयाँ मोड लिएको छ । एमाले संस्थापन पक्ष पार्टीको दशौं महाधिवेशन आयोजक कमिटी भङ्ग गर्ने र पार्टी पहिलेकै संरचनामा जान ओली सहमत भएपछि विवाद समाधान कमिटीको बैठक बसेको हो । एमाले पुरानो संरचनामा फर्किए पछि पूर्वमाओवादी नेताहरुलाई कसरी व्यवस्थापन गर्ने विषयमा भने दुवै पक्षबीच सहमति जुट्न सकेको छैन । तर यो विषयमा पनि कार्यदल सहमतिको नजित पुगेको बताइएको छ ।