काठमाडौं – सर्वोच्च अदालतले नेत्रविक्रम चन्द ’विप्लव’ नेतृत्वको नेकपाका १४ जना नेता–कार्यकर्तालाई रिहा गर्न आदेश दिएको छ । सर्वोच्चका न्यायाधीश विश्वभरप्रसाद श्रेष्ठ र कुमार चुडालको संयुक्त इजलासले नेकपाका केन्द्रीय सदस्य चुडामणि वली ’आदर्श’सहित १४ जनालाई आदेश दिएको हो ।

उनीहरूलाई बाजुरा प्रहरीले २२ कात्तिक २०७६ मा पक्राउ गरेको थियो । उनीहरूमाथि प्रहरीले हातहतियार तथा राजद्रोहको मुद्दा चलाएको थियो । सोही अभियोगमा जिल्ला र उच्च अदालतले पुर्पक्षका लागि कारागार चलान गर्ने आदेश दिएको थियो । सो आदेशलाई सर्वोच्चले उल्ट्याउँदै चुडामणिसहित १४ जनालाई रिहा गर्ने आदेश दिएको हो । उनीहरूका तर्फबाट अधिवक्ता एकराज भण्डारीले बहस गर्नुभएको थियो ।