काठमाडौं – नेकपा एमाले एकताका लागि ब्युँताइएको कार्यदलको बैठक आज पनि निष्कर्षबिहिन भएर टुङ्गिएको छ । सिंहदरबारमा बसेको बैठक ठोष निष्कर्ष निकाल्न असफल भएको हो । बैठकमा सहभागी विद्रोही पक्षका नेता गोकर्ण विष्टले हिजो भन्दा आज प्रगति भएको बताउनुभएको छ । सहमति हुनेगरी भोलि फेरि बैठक बस्ने उहाँको भनाइ छ ।

यस्तै बैठकमा सहभागि बिद्रोही पक्षका नेता रघुजी पन्तले आज मुल मुद्दामा प्रवेश गरेको र छलफल जारी रहेको बताउनुभयो । उहाँले अध्यक्ष केपी शर्मा ओली र विपक्षी गठवन्धनका माधवकुमार नेपालले संयुक्त वक्तव्य जारी गर्नेबारे के भयो कुराकानी भन्ने प्रश्नमा नेता पन्तले त्यसबारे चर्चा नै नभएको बताउनुभएको हो ।

ओलीले पार्टी एकताका लागि सोमबार कार्यदल ब्यूँताउनुभएको थियो । कार्यदल ब्यूँतिएलगत्तै साँझ सिंहदरबारमा बैठक बसेको थियो । बैठकमा यसअघि अनौपचारिक रुपमा भएका पार्टी एकताका प्रयासबारे ‘ब्रिफिङ’ गरिएको थियो । मुल मुद्दामा आज छिनोफानो गर्ने कार्यदलका नेताहरुले दाबी गरेका थिए । कार्यदलको बैठक सिंहदरबारमा बसिरहेका बेला मंगलबार नेता नेपाललाई भेट्न नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल नेपाल निवास कोटेश्वर पुग्नुभएको थियो ।

त्यसअघि ओली र नेपालबीच एक्लाएक्लै वार्ताको प्रयास गरेपनि नेताहरु असफल भएका थिए । नेकपा एमाले विभाजको सङ्घारमा छ । दुवै पक्ष आआफ्नो अडानबाट पछि नहटेपछि पार्टी सङ्कटमा परेको हो । नेपाल पक्षले माओवादी पृष्ठभूमिका नेताहरु बाहेकको केन्द्रीय कमिटी बैठक माग गरेको छ । ओलीले त्यसलाई अस्वीकार गर्दा पार्टी एकता जटिल बनेको हो ।