काठमाडौं – उपत्यकामा आजबाट जोर–बिजोर प्रणाली हटाउँदै सबै प्रकारका सवारी साधन सञ्चालनमा आएका छन् । स्थानीय प्रशासनको अनुमतिमा बाहिरका सवारी साधनहरु आजबाट काठमाडौं उपत्यका भित्रिने पाउने भएको हो ।

निषेधाज्ञा कायमै रहे पनि सबै प्रकारका सवारी साधनहरु चल्न थालेपछि काठमाडौं उपत्यकामा भीडभाड बढेको छ । आवागमन खुला भएसँगै मुख्य–मुख्य चोकहरुमा सवारी साधनहरुको जाम देखिन थालेको ट्राफिक प्रहरीले जनाएको छ । उपत्यकाका तीन जिल्ला काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरुको संयुक्त बैठकले आजबाट जोर–बिजोर प्रणाली हटाउँदै सबै प्रकारका सवारी साधन सन्चालन हुन दिने निर्णय गरेको थियो ।

काठमाडौं उपत्यकाभित्र चल्ने सवारी साधनमा सिट क्षमताभन्दा बढी यात्रु राख्न नपाइने, स्वास्थ्यका सबै मापदण्ड पालना गर्नुपर्ने, चालक तथा सहचालकले भाइजर र पञ्जाको प्रयोग गर्नुपर्ने काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले जानकारी दिए । यस्तै सवारी साधनको ढोकामा स्यानिटाइजर राख्नुपर्ने र सवारी साधनलाई हरेक दिन निसङ्क्रमण गर्नुपर्ने छ । मास्क नलगाएका यात्रुलाई चढाउन नपाइने नियम पनि छ ।

सफा टेम्पो र तथा निलो माइक्रोबसलाई पछाडिको तेर्साे सिटमा चार÷चार र चालकको छेउमा एक गरी नौ जना मात्रै यात्रु राख्न भनिएको छ । गाडीको बीचमा दुईतर्फ यात्रु छुट्याउने गरी प्लाष्टिकको छेकबार लगाउनु पर्नेछ । अत्यावश्यक वस्तुको अनलाइन ‘अर्डर’, रेष्टुरेन्ट तथा फाष्टफुड एवं अन्य अर्डरको टेकअवे र होमडेलिभरी साँझ ७ बजेसम्म गर्न पाइने छ । सार्वजनिक तथा निजी निर्माणका लागि सामग्री ढुवानीका सवारी साधन बेलुका ९ बजेदेखि बिहान ५ बजेसम्म सञ्चालन गर्नुपर्ने छ ।

आदेशमा भीडभाड हुने बाहेकका अधिकांश व्यवसाय साँझ ६ बजेसम्मका लागि खुला गरिएको छ । सभा, सम्मेलन, सिनेमा हल, होटल, पार्टी प्यालेसलगायत दर्शकसहित भीडभाड हुने सबै प्रकारका गतिविधिमा भने पूर्ण रोक लगाइएको छ । यस्तै पार्टी प्यालेसमा हुने विवाह, व्रतबन्धलगायत सामूहिकरूपमा गरिने कार्यक्रम, नित्य पूजाबाहेक सबै धार्मिक कार्यक्रम, भौतिक उपस्थितिमा हुने पठपाठनका गतिविधिसमेत गर्न पाइने छैन ।

पूर्वनिर्धारित सबै किसिमका लिखित तथा प्रयोगात्मक परीक्षा शर्त पालना गरी सञ्चालन गर्न सकिने छ । त्यसरी परीक्षा सञ्चालन गर्दा हल तथा कोठाको आधारमा २५ जनाभन्दा बढी भेला हुन रोक लगाइएको छ । गोष्ठी, सेमिनार, बैठक, प्रशिक्षणजस्ता कार्यक्रममा २५ जनाभन्दा बढी सहभागी हुन नपाइने जिल्ला प्रशासन कार्यालयबाट जारी आदेशमा उल्लेख छ ।