काठमाडौं –सत्तारुढ दल नेकपा एमालेको पार्टीको विवाद समाधानका लागि पुनः सक्रिय भएको कार्यदलको बैठक आज पनि बस्दैछ । कार्यदलको बैठक हिजो पनि बसेको थियो । बैठकपछि नेताहरुले सौहार्दपूर्वक छलफल भएको र विवाद समाधान हुनेमा आशावादी हुन सकिने प्रतिक्रिया दिएका थिए ।

गत शुक्रबार बसेको एमाले केन्द्रीय कमिटी बैठकले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउने रिटमा गरिएको हस्ताक्षर फिर्ता लिन सोमबार साँझसम्मको अल्टिमेटम दिएको भएता पनि वरिष्ठ नेता खनाल–नेपाल समूहले हस्ताक्षर फिर्ता लिएनन् । अल्टिमेटम सकिएलगत्तै कार्यदल ब्यूँताएर पार्टी विवाद हल गर्न छलफल सुरु भएको छ । आजको बैठकले महत्वपूर्ण निर्णय गर्न सक्ने कार्यदलका सदस्यहरुले बताएका छन् ।

जेठ २ गते बनाइएको कार्यदलमा एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपीशर्मा ओलीको तर्फबाट नेता सुवास चन्द्र नेम्वाङको नेतृत्वमा नेताहरु विष्णु पौडेल, प्रदीप ज्ञवाली, शंकर पोखरेल र विष्णु रिमाल रहेका छन् । खनाल–नेपाल समूहबाट नेता भीम रावलको नेतृत्वमा घनश्याम भुसाल, गोकर्ण विष्ट, सुरेन्द्र पाण्डे र रघुजी पन्त छन् ।