काठमाडौं – आज देशका विभिन्न क्षेत्रमा मनसुन सक्रिय रहँदा जल तथा मौसम विज्ञान विभागले जनाएको छ । प्रदेश २ र वाग्मती प्रदेशमा आंशिकदेखि सामान्य बदली र बाँकी प्रदेशहरुमा सामान्यदेखि पूर्ण बदली रहेको छ । प्रदेश १, वाग्मती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भैरहेको छ ।

जल तथा मौसम विज्ञान विभागका अनुसार आज दिउँसो कर्णाली तथा सुदूरपश्चिम प्रदेशमा आंशिकदेखि सामान्य बदली हुने र देशका बाँकी भू–भागहरूमा सामान्यदेखि पूर्ण बदली भै पानी पर्ने छ । प्रदेश नं. १ र २, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थान तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

यसै गरी आज मङ्गगबार राति देशका अधिकांश क्षेत्रमा सामान्यदेखि पूर्ण बदली रहनेछ । बुधबारदेखि पुन मनसुन सक्रिय हुँदै जाने विभागले जनाएको छ । प्रदेश नम्बर १ र २ तथा बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानमा सामान्यदेखि मध्यम खालको वर्षा हुन सक्ने छ भने कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको विभागले जनाएको छ ।

प्रदेश नं. एक का एकदुई स्थानमा मेघ गर्जने र चट्याङ्गसहित भारी वर्षाको सम्भावना रहेको पनि विभागले जनाएको छ । भारी वर्षाको सम्भावना रहेका प्रदेशहरुको पहाडी भू–भागमा भू–क्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको भन्दै विभागले नदीनाला तथा खहरे खोलाहरुमा पानीको सतह बढ्न सक्ने तथा यातायात क्षेत्र प्रभावित हुन सक्ने हुँदा सबैले आवश्यक सतर्कता अपनाउन पनि विभागले आग्रह गरेको छ ।