काठमाडौं – सरकारले विदेशबाट फर्कने यात्रुलाई क्वारेन्टिनमा राख्न कुल १ सय १० वटा होटेललाई अनुमति दिएको छ । पर्यटन विभागका अनुसार विभागमा दर्ता भैका २७ र बागमती प्रदेश उपत्यका पर्यटन कार्यालयमा दर्ता भएका ८३ गरि कुल १ सय १० होटेल क्वारेन्टिनका रुपमा तोकिएको हो ।

विभागको होटेल शाखाले आइतबार कोभिड १९ सङ्कट व्यवस्थापन केन्द्र (सीसीएमसी)मा होटेलको सूची बुझाएको हो । नेपाल सरकारले जारी गरेको पछिल्लो विदेशबाट नेपाल आगमन हुने यात्रुको व्यवस्थापन सम्बन्धी आदेश–२०७८ मा होटेल क्वारेन्टिनको व्यवस्थापनको जिम्मा पर्यटन बोर्डलाई दिएको छ । यसअघि यो काम नेपाल पर्यटन बोर्डसमेतको सहभागितामा गरिएको थियो ।

पाँचतारेदेखि पर्यटकस्तरीय होटेलसम्म

विभागका अनुसार यसरी तोकिएका होटेलमा पाँचतारे होटेल र रिर्सोटदेखि पर्यटक स्तरीय होटेल समेत छन् । यसअघि ठमेल क्षेत्रमा घना बस्ती भएको भन्दै क्वारेन्टिन नबनाउने भनिएकोमा व्यवसायीको विरोधपछि ठमेल क्षेत्रका होटेललाई समेत सामेल गरिएको छ । विभागको तथ्याङ्क अनुसार हायात रिजेन्सी, द सोल्टी काठमाडौं, काठमाडौं मेरियट होटेल र ¥याडिसन गरि चार वटा पाँचतारे होटेलले क्वारेन्टिनमा बस्ने यात्रु राख्ने छन् । गोकर्ण फरेष्ट रिर्सोट, क्लव हिमालय (नगरकोट), समिट होटेल र एयरर्पोट होटेलसमेत यो सूचीमा छन् ।

सरकारले निश्चित गन्तब्य तोकेर हवाई यात्रा खुला गरेको छ । जसअनुसार विदेशमा खोप नलगाई आउने यात्रुले नेपालमा क्वारेन्टिन बस्नु पर्छ । खाडी मुलुकबाट आउने यात्रुले होटेल बुकिङ नगरेपनि नेपाल आउन दिइन्छ । तर, उनीहरु नेपाल आइसकेपछि भने तोकिएका होटेलमा आफ्नै खर्चमा क्वारेन्टिन बस्नु पर्छ । वैदेशिक रोजगारीबाट र्फकनेहरुले ५ दिनपछि पिसिआर परीक्षण गरी नेगेटिभ रिर्पोट आएमा घर–गन्तब्यमा जान पाउँछन् ।