काठमाडौं – प्रतिनिधिसभा विघटनविरुद्ध परेको रिट निवेदनमाथिको बहस आजबाट सकिएको छ । निरन्तर सुनुवाई शुरु भएको ११ औं दिनमा आज सोमबार बहस सकिएको हो । सर्वोच्च अदालतको संवैधानिक इजलासले संसद् विघटन विरुद्ध मुद्दाको फैसला असार २८ मा गर्ने भएको छ । प्रधान न्यायाधीशले मुद्दा हेर्दाहेर्दैमा राखेर २८ गते फैसला सुनाउने जानकारी दिनुभएको छ ।

प्रतिनिधिसभा विघटन विरुद्ध परेको रिटमा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा, न्यायाधीश दीपक कुमार कार्की, मीरा खड्का, ईश्वरप्रसाद खतिवडा र डा. आनन्दमोहन भट्टराईले सुनुवाई गर्नुभएको छ । आज सोमबार काङ्ग्रेस सभापति शेरबहादुर देउवा सहित १ सय ४६ जना सांसदहरुको तर्फबाट जबाफी बहस सकिएपछि एमिकस क्युरीले राय दिएको हो ।

निवेदक तर्फबाट वरिष्ठ अधिवक्ता हरिहर दाहाल, बद्री बहादुर कार्की, कृष्ण प्रसाद भण्डारी र शम्भु थापाले जवाफ दिनुभएको थियो । जवाफी बहसपछि एमिकस क्युरीले स्वतन्त्र राय दिनुभएको छ । एमिकस क्युरीबाट बरिष्ठ अधिवक्ताहरू कोमल प्रकाश घिमिरे, प्रकाश बहादुर केसी, राघवलाल वैद्य र उषा मल्ल पाठकले राय दिनुभयो ।