काठमाडौं – काठमाडौं उपत्यकामा जारी निषेधाज्ञामा सार्वजनिक यातायात जोरबिजोर नियम हटाउँदै थप खुकुलो गरिएको छ । काठमाडौं उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले निषेधाज्ञा असार ३१ गते सम्मको लागि थप गर्दै माइक्रो बस र टेम्पो चलाउन दिने निर्णय गरेको छ ।

जिल्ला प्रशासन कार्यालय ललितपुरका प्रमुख जिल्ला अधिकारी ढुण्डीप्रसाद निरौलाले बैठकले सार्वजनिक यातायात जोरबिजोर नियम हटाउने निर्णय गरेको बताउनुभयो । यस अघिको बैठकले २५ सिटभन्दा माथिका गाडी चलाउन दिइएकोमा अव थपिएको निषेधाज्ञामा माइक्रो बस र टेम्पो चलन पाउने छन् । लामो दूरीका सार्वजनिक यातायात सञ्चालन पाइने तर जिल्ला प्रशासन कार्यालयको पास हुनपर्नेछ ।

यातायात सञ्चालन गर्दा जनस्वास्थ्यका मापदण्ड अनिवार्य पालना गर्नुपर्ने छ । गाडी भित्र बस्दा यात्रुले मास्क, सेनिटाइजरको प्रयोग र सामाजिक दूरी कायम अनिवार्य गर्नुपर्ने छ । पछिल्लोपटक थप गरिएको निषेधाज्ञाको अवधि आज राति १२ बजेपछि सकिँदैछ भने उपत्यकामा गएको वैशाख १६ गतेदेखि जारी निषेधाज्ञा ६८ दिन पुग्दा पनि राम्रोसँग खुल्न सकेको छैन ।