काठमाडौं – नेपाल खुला विश्वविद्यालयका शिक्षक कर्मचारीहरू आन्दोलनमा उत्रिएका छन् । निमित्त उपकुलपतिले विधानविपरीत शिक्षक तथा कर्मचारीको स्थायी नियुक्ति प्रक्रिया रोकेको भन्दै उनीहरू आन्दोलनमा उत्रिएका हुन् । आइतबार साँझ प्रेस विज्ञप्ति जारी गर्दै शिक्षक तथा कर्मचारीले असार २५ गतेसम्मका विश्वविद्यालयका सम्पूर्ण कामकारबाही ठप्प पार्ने जनाएका छन् । २०७७ भदौ ९ को विश्वविद्यालयको सिनेट सभाको निर्णयका आधारमा कार्यकारी परिषद्ले २०७८ वैशाख २४ गते खुला तथा प्रतिष्पर्धाका आधारमा कर्मचारीहरूको स्थायी पदपूर्ति गर्ने निर्णय गरेको थियो ।

सोही बमोजिम गर्न विश्वविद्यालय सेवा आयोगले असार १५ गते गोरखापत्र दैनिकमा विज्ञापन प्रकाशित गरेको थियो । त्यही विज्ञापनलाई रोक्ने मनसायले उपकुलपति इन्द्रबहादुर कार्कीको तत्परतामा कुलपतिद्धारा विज्ञापन स्थगन गर्ने ठाडो आदेश जारी गरेपछि शिक्षक कर्मचारी आन्दोलित बनेका हुन् । विश्वविद्यालयको वेबसाइटमा सूचना प्रकाशन गर्ने पूर्ववत् अभ्यासलाई हुँदै नभएको अधिकार प्रयोग गरी निमित्त उपकुलपतिले आफूमा केन्द्रित गरेको आन्दोलित शिक्षकहरुको आरोप छ ।

उनीहरूका अनुसार हाल विश्वविद्यालयमा कार्यरत शिक्षक तथा कर्मचारी तात्कालीन पदपूर्ति समिति (हाल विश्वविद्यालय सेवा आयोग) ले खुला प्रतिस्पर्धामार्फत स्थायी नियुक्तिको प्रकृया पूरा गरी सिफारिस भइ करार सेवामा कार्यरत छन् । त्यसैले अहिले विज्ञापन रोक्ने कार्य पनि विगतमा स्थायी शिक्षक कर्मचारी नियुक्ति गर्न नचाहने नियतको निरन्तरता रहेको भन्दै उनीहरू आन्दोलित बनेका हुन् । ‘विश्वविद्यालय सिनेट सभाको निर्णयविपरीत कुलपतिको उक्त कार्य नेपाल खुला विश्वविद्यालय ऐनविपरीत हुनुका साथै विश्वविद्यालय स्वयत्ततासम्बन्धी मान्यता र परम्पराको ठाडो उल्लङ्घन हो,’ विज्ञप्तिमा उल्लेख छ ।

समस्या समाधानको निम्ति उपकुलपतिसँग तीन पटक संवादमा बस्दा पनि उपयुक्त निष्कर्ष ननिस्किएको उनीहरूको दाबी छ । नेपाल खुला विश्वविद्यालयको जीवन र गरिमा बचाउने उद्धेश्यका साथ गरिएको आन्दोलनमा ऐक्यबद्धता जनाउन सरोकारवाला पक्षलाई उनीहरूले आह्वान गरेका छन् ।