काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी एमालेमा उत्पन्न विवाद समाधानका लागि वरिष्ठ नेता माधवकुमार नेपालसँगै छलफल गर्न नेता भीम रावलले प्रधानमन्त्री केपी शर्मा ओलीलाई आग्रह गर्नुभएको छ । हिजो आइतबार राति ओलीले एमाले विवाद समाधान सम्बन्धमा छलफलका लागि नेता रावललाई बालुवाटार बोलाउनुभएको थियो ।

रावल र ओलीबीच बालुवाटारमा दुई घण्टा छलफल चलेको थियो । छलफलका क्रममा रावलले आफूसँग भन्दा पनि वरिष्ठ नेता नेपालसँगै छलफल गरेर समाधान खोज्न आग्रह गरेको श्रोतले जनाएको छ । ‘मसँग छलफल गरेर केही हुनेवाला छैन, एकता चाहने हो भने वरिष्ठ नेता नेपालसँग नै छलफल र सहकार्य गरेर अघि बढ्नुको विकल्प छैन’, रावलको भनाइ उद्धृत गर्दै श्रोतले भन्यो । नेता रावलले बालुवाटार छलफलका सम्बन्धमा आफ्नो समूहका नेताहरुलाई ब्रिफिङ गर्नुभएको छ ।

संसद् विघटन बदर र शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन माग गर्दै दायर रिटमा बुझाइएको हस्ताक्षर फिर्ता लिन ओलीले दिएको अल्टिमेटम आज सोमबार साँझ पाँच बजे सकिँदैछ । तर एमालेको माधव समूहले कुनै हालतमा हस्ताक्षर फिर्ता लिन नसकिने बताइसकेको छ । ओलीसँगको छलफलका क्रममा पनि नेता रावलले हस्ताक्षर फिर्ता लिन नसकिने बताउनुभएको हो ।

‘संविधान जोगाउन गरिएको हस्ताक्षर फिर्ता हुँदैन’, रावलको भनाइ थियो । प्रधानमन्त्री ओलीले सोमबार साँझ पाँच बजेसम्म हस्ताक्षर फिर्ता लिइसक्न चेतावनी दिनुभएको छ । सर्वाेच्चको फैसला आउनपूर्व हस्ताक्षर फिर्ता नलिनेहरु एमाले नरहने ओलीको चेतावनी छ । तर माधव समूहका नेताहरुले भने फिर्ता लिनका लागि हस्ताक्षर नगरिएको बताउँदै आएका छन् ।