काठमाडौं – नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्माले राष्ट्रिय राजनीतिमा पार्टीको शान्तिपूर्ण ढङ्गले प्रवेश सामान्य घटनाक्रम नभएको बताउनुभएको छ । आज आइतबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा उहाँले पछिल्लो दिनमा सहमतिलाई कार्यान्वयन गर्ने सन्दर्भमा राज्यपक्षबाट ढिलाइ भएको भन्दै असन्तुष्टि व्यक्त गर्नुभएको हो ।

उहाँले यही विषयलाई लिएर आफूहरुले प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता गरेको जानकारी दिँदै उनले प्रधानमन्त्रीले राष्ट्रिय राजनीतिमा देखिएको उतारचढाव, कोरोना महामारीलगायतका कारण सहमति कार्यान्वयनमा ढिलाइ भएको र छिट्टै सहमति कार्यान्वयनतर्फ जाने प्रतिबद्धता जनाएको बताउनुभयो ।

उहाँले भेटका क्रममा हप्ता १० दिनभित्र आफूहरुको माग सम्बोधन गर्न प्रधानमन्त्रीको ध्यानाकर्षण गराइएको र त्यसमा प्रधानमन्त्री सकारात्मक भएको जानकारी दिनुभयो । ‘३ बुँदेलाई कार्यान्वयन गर्नेसँग सम्बन्धित विषयमा १० दिनभित्र परिणाम निकाल्ने निष्कर्षमा हामी पुगेका छौं ।’ उहाँले भन्नुभयो ‘बन्दीलाई छिट्टै छाड्नुपर्ने हामीले भनेका छौं । यो राजनीति हो, परिवर्तन हो, आन्दोलन हो । सहमति कार्यान्वयन नभए त्यसको ठूलो मूल्य चुक्ता त सरकारले गर्नुपर्छ ।’ विश्वकर्माले सरकारको तर्फबाट राजन भट्टराईलाई आफूहरुको माग पूरा गर्न प्रधानमन्त्रीले आवश्यक निर्देशन दिएको पनि जानकारी दिनुभयो ।