काठमाडौं – सर्वोच्च अदालतको संवैधानिक इजलासमा आज पनि प्रतिनिधिसभा विघटन सम्बन्धी रिट निवेदन माथिको बहस हुँदैछ । संवैधानिक इजलासमा आज आइतबार प्रतिनिधिसभाका सभामुख अग्नि सापकोटाको तर्फबाट पाँचजना कानून व्यवसायीहरुले बहस पैरबी गर्दैछन् । यी कानून व्यवसायीहरुका लागि दुई घण्टाको समय छुट्याइएको छ । उनीहरुको बहस सकिए पछि निवेदकका तर्फबाट आज जवाफ दिने तय भएको छ । विघटित प्रतिनिधिसभाको प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेस संसदीय दलका नेता शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउनु पर्ने तथा प्रतिनिधिसभा विघटन खारेज गर्न माग गर्दै तात्कालिन प्रतिनिधिसभाका एक सय ४६ सांसदहरुको तर्फबाट दायर रिटमाथि संवैधानिक इजलासमा सुनुवाई भइरहेको छ ।

सभामुख सापकोटाको तर्फबाट बहस गर्ने कानुन व्यवसायीहरुले बहस गरेपछि एक सय ४६ जना सांसदहरुको तर्फबाट जवाफ दिंदैछन् । बाँकी रहेको जवाफी बहस सोमबार सकिएपछि सर्वोच्च बार र नेपाल बारका तर्फबाट गएका एमिकस क्यूरीले बहस गर्ने छ । उनीहरुको लागि दुई घण्टा समय छुट्याइ सकिएको छ । प्रतिनिधिसभा दोस्रो पटक गरिएको विघटनविरुद्ध परेको रिटको सुनुवाईका लागि छुट्याइएको ३२ घण्टे बहसको समय सोमबार सकिंदै छ । प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दाको अन्तिम फैसला मङ्गलबार या बुधबारसम्म हुनसक्ने अनुमान गर्न थालिएको छ ।

निवेदकको तर्फबाट बहस गर्ने कानून व्यवसायीहरुले संविधानको धारा ७६ (५) अनुसार सरकार गठनको प्रक्रिया थाल्दा धारा ७६ (४) लाई बाइपास गरिएको तथा धारा ७६ (५) मा समर्थनको अधिकार सांसदमा निहित रहने जिकिर गरेका छन् । तर सरकार पक्षले भने संविधानमा निर्दलीय व्यवस्थाको कल्पना नै नरहेकाले धारा ७६ (५) अनुसारको सरकार बनाउँदा पनि सांसदमा दलीय ह्वीप लाग्ने दाबी पेश गरेका छन् । राष्ट्रपति र प्रधानमन्त्रीबाट संविधान बर्खिलाप भएको र राष्ट्रपतिबाट आफ्नो संवैधानिक जिम्मेवारीको ख्याल नगरी सीमा नाघेर असंवैधानिक कदम चालि अधिकारको प्रयोग भएको निवेदक पक्षका कानून व्यवसायीहरुले जिकिर गरेका छन् ।