काठमाडौं – आज पनि देशका विभिन्न क्षेत्रमा हल्कादेखि अधिक पानी पर्नसक्ने जल तथा मौसम पूर्वानुमान शाखाले जनाएको छ । विशेष गरी प्रदेश नं १ र २, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही भागमा भारी वर्षा हुनसक्ने र केही स्थानमा हल्कादेखि मध्यमखालको वर्षा हुन मौसमविद मौसमविद् विभूति पोखरेलले बताउनु भएको छ । प्रदेश १, प्रदेश २, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरुमा आइतबार दिउँसो मेघ गर्जन र चट्याङ्सहित भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाउको छ ।

बायुमा देखिएको न्यून चापीय प्रभावमा केही न्यूनरुपमा तल सरेकोले देशको मनसुनी गतिविधिमा केही कमी देखिएको भन्दै अझै दुई–तीन दिन यस्तै रहने पूर्वानुमान रहेको मौसमविद् पोखरेलले जानकारी दिनुभएको छ । देशभर बदली तथा हल्कादेखि मध्यम र केही स्थानमा भारी वर्षाको सम्भावना कायम रहेको र मनसुनी गतिविधि सक्रिय अवस्थामै रहेको मौसमविदको भनाइ छ । आज आइतबार पनि देशभरको मौसममा सामान्यदेखि पूर्ण बदली रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

गए रातिदेखि नै प्रदेश नं. १ र २ का साथै बागमती, गण्डकी र लुम्बिनी प्रदेशको केही भागमा सामान्यदेखि पूर्ण बदली भई हल्का र मध्यम खालको वर्षा भइरहेको छ । त्यसै गरी अन्य बाँकी दुई प्रदेशमा आंशिकदेखि सामान्य बदली रही केही स्थानमा हल्का पानी परिरहेको महाशाखाले जनाएको छ । पहाडी भू–भागमा परेका पानीले खहरे खोला र नदीहरुमा पानीको सतह बढ्ने भन्दै आवश्यक सतर्कता अपनाउनु जल तथा मौसम पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ ।
अविरल वर्षाका कारण देशका साना ठूला गरी विभिन्न राजमार्गहरु पहिरोका कारण अवरुद्ध भएका छन् । खोला र ठूला नदीहरुमा पानीको बहाव केही घट्ने र बढ्ने क्रम निरन्तर भैरहेको छ ।