काठमाडौं – प्रधानमन्त्री निवास बालुवाटरमा बसेको नेकपा (एमाले) ओली समूहको आज बसेको केन्द्रीय कमिटीको बैठक केहीबेर अघि सकिएको छ । केन्द्रीय कमिटीको बैठक भोलि शनिबार पनि प्रधानमन्त्री निवास बालुवाटरमा दिउँसो तीन बजे बस्ने गरी आजको बैठक सकिएको हो ।
आजको उक्त बैठकमा अध्यक्ष केपी शर्मा ओली र उपाध्यक्ष वामदेव गौतमले बोल्नु भएको थियो । महासचिव ईश्वर पोखरेलले केही प्रस्ताव प्रस्तुत गर्नु भएको थियो । पाटीैलाई एकतावद्ध बनाएर लैजानु पर्नेमा उपाध्यक्ष वामदेव गौतमको भनाइ रहेको र अध्यक्ष ओलीले पार्टी एकतालाई महाअभियानका रुपमा लैजानका निम्ति पहल गर्न उपाध्यक्ष गौतमलाई सुझाउनु भएको थियो ।

बैठकले निम्न प्रस्तावहरू पारित गरेको छ :

१. नेकपा (एमाले) केन्द्रीय कमिटीको यो बैठक नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव कमरेड पुष्पलाल, जननेता मदन भण्डारी तथा पार्टी अध्यक्ष एवं लोकप्रिय प्रधानमन्त्री मनमोहन अधिकारी लगायत आन्दोलनका अग्रजहरूप्रति उच्च सम्मानका साथ हार्दिक श्रद्धासुमन अर्पण गर्दछ । उहाँहरूले देखाउनु भएको आदर्शलाई पछ्याउने र निर्माण गर्नुभएको बाटोमा अविचलित रुपमा अगाडि बढ्ने सङ्कल्प गर्दछ । बैठक नेपालको देशभक्तिपूर्ण आन्दोलन, लोकतान्त्रिक आन्दोलन र कम्युनिष्ट आन्दोलनमा सहभागी हुने क्रममा आफ्नो अमूल्य जीवन उत्सर्ग गर्नुहुने सबै शहीदहरूप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछ ।

२. नेपाल कम्युनिष्ट पार्टी (एमाले) नेपालको कम्युनिष्ट आन्दोलनको मूलप्रवाह हो । यो नेपालको लोकतान्त्रिक आन्दोलनको अग्रणी शक्ति हो । यो देशभक्तिपूर्ण आन्दोलन र राष्ट्रिय एकताको बलियो आधारस्तम्भ हो । नेपालका अग्रगामी परिवर्तनको मुख्य संवाहक र नेपालको संविधान निर्माणको निर्णायक एवं नेतृत्वदायी शक्ति पनि यही पार्टी हो । यस पार्टीलाई एकताबद्ध, सुदृढ र नेतृत्वदायी स्थानमा स्थापित गरेर मात्रै परिवर्तनका उपलब्धिहरूलाई रक्षा गर्न सकिन्छ । मुलुकमा राजनीतिक स्थायित्व कायम गर्न सकिन्छ र समाजवादका आधारहरू निर्माण गर्न सकिन्छ । तर पार्टीमा विगत केही समय यता उत्पन्न असहज अवस्थाले पार्टीका हजारौं नेता–कार्यकर्ता तथा समर्थक–शुभचिन्तकहरूलाई चिन्तित तुल्याएको छ भने विरोधी शक्तिहरूलाई उत्साहित बनाएको छ । स्थितिको गाम्भीर्य, पार्टीको काँधमाथिका ऐतिहासिक अभिभारा, पार्टीपङ्क्तिको भावना एवं जनचाहनालाई केन्द्रबिन्दुमा राखेर पार्टी एकताको रक्षा, विकास र पार्टीको सुदृढीकरणका लागि आ–आफ्नो स्थानबाट रचनात्मक योगदान गर्न यो बैठक पार्टीका सबै नेता–कार्यकर्ताहरूलाई आह्वान गर्दछ ।

३. आफ्नो पार्टी नेतृत्वको सरकारलाई अपदस्थ गराएर विपक्षी दलको नेतालाई प्रधानमन्त्री बनाउन हाम्रो पार्टीका कतिपय सांसदहरू हस्ताक्षरसहित राष्ट्रपति समक्ष प्रस्तुत हुनु र ती मध्ये केही विपक्षी दलका नेतालाई प्रधानमन्त्रीमा नियुक्ति गराउन सर्वोच्च अदालतमा मुद्दाका पक्षधर बनेर प्रस्तुत हुनु नेपालको संविधानको मर्म र भावना, लोकतान्त्रिक पद्धति र पार्टीको विधान विपरीतको विषय हो । यस्तो गतिविधि राष्ट्र र जनताका हितका समेत विपरीत छ । तसर्थ यो बैठक त्यसरी हस्ताक्षर गर्ने पार्टीका निवर्तमान सांसदहरूलाई आगामी सोमबार ५ बजेभित्र हस्ताक्षर फिर्ता लिन निर्देश गर्दछ । यस्ता अनधिकृत हस्ताक्षरको वैधता स्थापित हुन नसक्ने र यी हस्ताक्षरहरू मान्य हुन नसक्नेतर्फ पनि हाम्रो पार्टी सम्बद्ध सबैमा स्पष्ट पार्न चाहन्छ ।

४. यो बैठक कोभिड महामारीका कारण ज्यान गुमाउनु हुने पार्टी केन्द्रीय सदस्य कमरेडहरू पशुपति चौलागाइँ र योगनारायण यादव, केन्द्रीय सल्लाहकार परिषद् सदस्य कमरेड महेन्द्र कतिला, पूर्वसांसद कमरेड रत्नप्रसाद शर्मा, डोल्पा जिल्ला कमिटी अध्यक्ष कमरेड दत्तबहादुर रोकाया, पूर्वी रुकुमका पूर्व अध्यक्ष सतमान पुन, सुदुरपश्चिम प्रदेश कमिटी सदस्यहरू रामचन्द्र जोशी र लालबहादुर कडायत, डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका प्रमुख कमरेड ओमबहादुर बुढा, केन्द्रीय विभागका पूर्व सदस्यहरू डा. गोविन्द थापा र चन्द्र न्यौपाने लगायत दिवंगत दाजुभाइ दिदीबहिनीहरूप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछ । सङ्क्रमित हुनुभएका सबैको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछ । कोभिड महामारीका विरुद्ध सरकारले प्रभावकारी ढङ्गले कदम चालिरहेको निष्कर्षका साथ बैठकले लक्षित उमेर समूहका सबै नागरिकहरूलाई समयमै खोप उपलब्ध गराएर कोभिड महामारीलाई निर्णायक रुपमा नियन्त्रण गर्न आफ्नो सम्पूर्ण क्षमताको उपयोगका लागि सरकारसँग आग्रह गर्दछ ।

५. यो वर्ष मनसुनको सुरुमै परेको भीषण वर्षाका कारण आएको बाढी–पहिरो र डुबानले देशैभरि जनधनको ठूलो क्षति पु¥याएको छ । सिन्धुपाल्चोक, मनाङ, कास्की, लमजुङ, तनहुँ, चितवन, पाल्पा, गुल्मी, बाजुरा, सुर्खेत, दैलेख, कालिकोट, जाजरकोट लगायत जिल्लाहरू बढी प्रभावित भएका छन् । ती जिल्लाहरूमा कैयौंको ज्यान गएको छ, सयौं परिवार घरबारविहीन हुनुभएको छ, पशुपञ्छी एवं चौपायाहरूको मृत्यु भएको छ र मेलम्ची खानेपानी, विभिन्न जलविद्युत् परियोजनाहरू र राष्ट्रिय राजमार्गमा ठूलो क्षति पुगेको छ । यो बैठक प्राकृतिक विपत्तिमा परी ज्यान गुमाउनुहुने सबैप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछ । घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछ । पीडितहरूको पीडाप्रति गहिरो सहानुभूति व्यक्त गर्र्दै विस्थापितहरूलाई तत्काल सुरक्षित र दिगो पुनस्र्थापना गर्न सरकारसँग गम्भीर आग्रह गर्दछ ।

६. यो बैठक भारतको नयाँ दिल्लीमा स्वास्थ्योपचार गराइरहनु भएका पार्टीका वरिष्ठ नेता एवं पूर्व प्रधानमन्त्री कमरेड झलनाथ खनालको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछ । उहाँको स्वास्थ्योपचारको जिम्मा लिनु भएकोमा पार्टी अध्यक्षप्रति धन्यवाद ज्ञापन गर्दछ ।

७. यो बैठक पार्टी स्थापनाको सयौं वर्षगाँठको सुखद उपलक्ष्यमा चिनियाँ कम्युनिष्ट पार्टीका महासचिव कमरेड सि चिनफिङ र चिनियाँ कम्युनिष्ट पार्टीलाई हार्दिक बधाई ज्ञापन गर्दछ । सय वर्षको सङ्घर्षपूर्ण अवधिमा चिनियाँ कम्युनिष्ट पार्टीले चिनियाँ जनतालाई सामन्तवादबाट मुक्त गरेको छ, चिनियाँ राष्ट्रलाई विदेशी उत्पीडनबाट स्वतन्त्रता दिलाएको छ र सयौं वर्षदेखि जारी गरिबीको दुश्चक्रबाट मुक्त गर्दै चिनियाँ जनतालाई समृद्धिको प्रत्याभूति दिलाउन सफल भएको छ । चिनियाँ कम्युनिष्ट पार्टीको नेतृत्वमा चीनले पूर्वाधार निर्माण, कृषिमा युगान्तकारी रुपान्तरण, प्रविधिको नवीनतम विकास, शिक्षा–स्वास्थ्य–कला– खेलकुद सहितका सामाजिक क्षेत्रहरू, अन्तरीक्ष विज्ञान लगायतमा हासिल गरेका प्रगतिहरू चामत्कारिक प्रकृतिका छन् । चीनले विश्वका विकासशील देशहरूको पक्षमा खेलिरहेको भूमिका प्रशंसनीय छ । यो बैठक यी तमाम सफलता एवं उपलब्धिका लागि तथा सापेक्ष रुपमा समुन्नत समाजवादी मुलुक

बनाउने पहिलो शताब्दी लक्ष्य हासिल गरेकोमा खुशी व्यक्त गर्दै हार्दिक बधाइ ज्ञापन गर्दछ । त्यसरी नै दोश्रो शताब्दी लक्ष्य हासिल गर्न र चिनियाँ राष्ट्रको पुनरोदयको चिनियाँ सपना साकार पार्न पूर्ण सफलता प्राप्त होस् भन्ने चिनियाँ राष्ट्रपति एवं चिनियाँ कम्युनिष्ट पार्टीका महासचिव कामरेड सि चिनफिङ र उहाँमार्फत चिनियाँ कमरेडहरूलाई हार्दिक शुभकामना व्यक्त गर्दछ ।