काठमाडौं – वरिष्ठ अधिवक्ता रमेश गुरागाईंले प्रतिनिधिसभाले रिजल्ट नदिएपछि जनतामा निराशा पैदा भएको जिकिर गर्नुभएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको तर्फबाट संवैधानिक इजलासमा आज शुक्रबार बहस गर्दै गुरागाईंले सभामुख एकातिर, संसद एकातिर र दलहरु एकातिर भएको अवस्था रहेको बताउनुभयो ।

अदालतले पुनः स्थापना गरेको संसदले पनि सरकार दिन नसकेको हुनाले दोस्रो पटक विघटनको आवश्यकता परेको उहाँको भनाइ छ । गुरागाईंले भन्नुभयो, ‘अविश्वासको प्रस्ताव पनि आउन सकेन, संसदले रिजल्ट नदिएपछि जनतामा निराशा पैदा भएको अवस्था छ ।’ उहाँले संसदबाट नकारात्मक रिजल्टमात्रै आएको हुनाले अदालतले विघटनको निर्णय सदर गर्नुपर्ने बताउनुभएको छ । रिट निवेदकले मागेअनुसार संसद पुनः स्थापना भएमा आउने रिजल्टभन्दा चुनावबाट आउने रिजल्ट उत्तम हुने उहाँको भनाइ छ ।

वरिष्ठ अधिवक्ता गुरागाईंका अनुसार, ‘पुनर्स्थापना गर्दा आउने रिजल्ट र चुनावलाई गर्दा आउने रिजल्टलाई तुलना गर्दा चुनावबाट आउने रिजल्ट प्रतिनिधिसभा पुनर्स्थापनाबाट ल्याउन सकिँदैन ।’