काठमाडौं – प्रतिनिधि सभा पुनर्स्थापना र नेपाली काङ्ग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउने मागसहित सर्वोच्च अदालतमा परेको रिटमाथि आज सभामुख अग्निप्रसाद सापकोटाका तर्फबाट ५ अधिवक्ताले बहस गर्ने भएका छन् । सर्वोच्चको संवैधानिक इजलासमा जारी बहसमा सभामुख सापकोटाको तर्फबाट वरिष्ठ अधिवक्ता, श्यामप्रसाद खरेल, वरिष्ठ अधिवक्ता लभकुमार मैनाली, वरिष्ठ अधिवक्ता उपेन्द्रकेशरी न्यौपाने, अधिवक्ता मेघराज पोखरेल र श्रीकृष्ण सुवेदीले बहस गर्नेछन् ।

आज सरकारी पक्षको बहस सकिएपछि सभामुखका तर्फबाट बहस सुरु हुने भएको हो । प्रतिनिधि सभा विघटन असंवैधानिक भएको भन्दै संसद् पुनःस्थापनाको माग सहित सभामुख सापकोटाले सर्वोच्चमा रिट दायर गरेका थिए ।