काठमाडौं – नेकपा एमालेको केन्द्रीय कमिटी बैठकमा पार्टी उपाध्यक्ष बामदेव गौतम सहभागी हुन बालुवाटार पुग्नुभएको छ । अध्यक्ष केपी शर्मा ओली ३ जेठ २०७५ को अवस्थामा फर्कन तयार भएकाले बैठकमा सहभागी बन्न बालुवाटार गएको उहाँको सचिवालयले जनाएको छ । साविकको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) विभाजित भएपछि गौतमले छुट्टै अभियान चलाउँदै आउनुभएको छ । तर अध्यक्ष ओली एमालेकै पार्टी संरचना मान्न तयार भएको भन्दै गौतम बैठकमा सहभागी हुनुभएको हो ।

एमाले अध्यक्ष केपी शर्मा ओलीले बोलाएको बैठकमा भाग लिन गौतम बालुवाटार प्रस्थान गरेको उहाँका छोरा हरिशले सामाजिक सञ्जालमार्फत जानकारी दिनुभएको छ । उहाँलाई पार्टी उपाध्यक्षका हैसियतले बोलाइएको पत्र सार्वजनिक गर्दै हरिशले बैठकमा सहभागी हुन गौतम बालुवाटार प्रस्थान गरेको जानकारी दिनुभएको हो ।

अध्यक्ष ओलीले एमालेको नवौं महाधिवेशनबाट निर्वाचित पदाधिकारी स्वीकारेर बैठकमा सहभागी हुन नेताहरुलाई पत्र पठाउनुभएको छ । केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङका अनुसार सबैलाई नवौं महाधिवेशनबाट निर्वाचित पदीय हैसियत सम्बोधन गरेर पत्र पठाइएको छ ।

तर यो बैठकलाई अध्यक्ष ओलीले १३ औं केन्द्रीय कमिटी बैठक भन्नुभएको छ । नवौं बैठक पछाडिको बैठकमा वरिष्ठ नेता माधवकुमार नेपाल समूह अनुपस्थित छन् । यो बैठकमा माधवकुमार नेपाल समूहले भने सहभागी नहुने अडान लिएको छ । बैठकमा सहभागी हुन अध्यक्ष ओलीले गरेको आग्रह वरिष्ठ नेता नेपालले अस्वीकार गरेका छन् ।