काठमाडौं –नेपाल सरकाले चार जनालाई सचिवमा बढुवा गरेको छ । बिहीबारको मन्त्रिपरिषदको बैठकले वरिष्ठ सहसचिव गणेशप्रसाद पाण्डे, डा. दामोदर रेग्मी, प्रमिला बज्राचार्य र डा. कृष्णप्रसाद आचार्यलाई सचिवमा बढुवा गरेको हो ।

लोक सेवा आयोगका अध्यक्ष माधवप्रसाद रेग्मीको अध्यक्षतामा बढुवा सिफारिस समितिको बैठकले उहाँहरुको नाम सिफारिस गरेको थियो । कृषि तथा वन सेवातर्फ वरिष्ठ सहसचिव डा.आचार्यलाई सचिवमा बढुवा गरेको हो । बढुवा समितिले कृषि तथा वन सेवा तर्फ वरिष्ठ सहसचिवत्रय डा.प्रसाद आचार्यसहित निरु दाहाल पाण्डे र दीपक खरालको नाम सिफारिस गरेको थियो ।

इञ्जिनियरिङ सेवातर्फ प्रमिला बज्राचार्यलाई बढुवा गरिएको छ । इञ्जिनियरिङ सेवातर्फ बज्राचार्यसहित सुशिलचन्द तिवारी र गोपालप्रसाद सिग्देलको नाम सिफारिस गरिएको थियो । प्रशासन सेवाका तीन वरिष्ठ सहसचिवमध्ये पहिलो नम्बरमा सिफारिस पाण्डेलाई सचिवमा बढुवा गरिएको छ । पाण्डेसहित मधुसुधन बुर्लाकोटी र कृष्णहरी पुष्करको नाम सिफारिस गरेको थियो । डा.रेग्मीको हकमा उहाँको मात्रै सिफारिस भएको थियो ।