काठमाडौं – नेकपा एमालेको केन्द्रीय कमिटीको बैठक आज बस्दै छ । बैठकमा वरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपाल समूह भने यो बैठकमा सहभागी नहुने भएका छन् । हिजो बसेको केन्द्रीय कमिटीको बैठकले आज शुक्रबार बोलाइएको बैठक अवैध भएको निष्कर्ष निकाल्दै सहभागी नहुने निर्णय गरेको हो ।

पार्टीलाई २०७५ जेठ २ अगाडिको अवस्थामा फर्काउनुपर्ने माग गर्दै आएको खनाल–नेपाल समूहले अहिलेकै स्थितिमा बैठकमा सहभागी हुन नसकिने जनाएको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीले १० औं महाधिवेशन आयोजक कमिटी भङ्ग गरी त्यसलाई केन्द्रीय कमिटीमा रुपान्तरण गर्नुभएको थियो । प्रधानमन्त्री ओलीले दशौं महाधिवेशन आयोजक कमिटीलाई भङ्ग गरेर त्यसैलाई केन्द्रीय कमिटीमा रुपान्तरण गर्नुभएको छ, जसमा पूर्वमाओवादीका २० जना सदस्य रहेका छन् ।

एमाले वरिष्ठ नेता खनाल–नेपाल समूहले एमाले र माओवादी केन्द्रको एकता हुनुभन्दा अगाडिको केन्द्रीय कमिटी बैठक बोलाउन माग गर्दै आएको भएता पनि ओलीले पूर्वमाओवादीका नेताहरूलाई समेटेर केन्द्रीय कमिटी बनाएकाले बैठकमा सहभागी नहुने सो समूहको अडान छ ।