काठमाडौं – चिकित्सा शिक्षा आयोगले साउन ९ गतेदेखि स्नातक तहको एकीकृत प्रवेश परीक्षा सञ्चालन गर्ने भएको छ । साउन ९ देखि १३ गतेसम्म सञ्चालन हुने प्रवेश परीक्षामा सबै परीक्षार्थीलाई पिसिआर रिपोर्ट अनिवार्य गरेको सूचना आयोगले सार्वजनिक गरेको परीक्षा तालिकामा उल्लेख छ ।

सिसिएमसीले परीक्षा सञ्चालनको स्वीकृति दिँदा नै कोभिड–१९ को उच्च जोखिमलाई ध्यानमा राख्दै पिसिआर अनिवार्य गरेअनुसार आयोगले सूचना प्रकाशित गरेको आयोगका प्रवक्ता डिल्ली लुइँटेलले बताउनुभयो । उहाँका अनुसार आयोगले तीन दिन लगाएर विद्यार्थीले रुचाएको ठाउँमै परीक्षा केन्द्र तोक्न फारम भराएको थियो । सोही अनुसार अब केन्द्र तोकिने भएको छ ।

‘सिसिएमसीले परीक्षा सञ्चालन गर्न स्वीकृति दिँदा नै विद्यार्थीले रोजेको ठाउँअनुसार केन्द्र तोक्नुपर्ने र स्वदेशी विद्यार्थीको सवालमा परीक्षाको दिनुभन्दा ७२ घन्टाभित्रको पिसिआर रिपोर्ट अनिवार्य गरेको हो,’ प्रवक्ता लुइँटेलले भन्नुभयो, ‘विदेशी विद्यार्थीको हकमा भने ७ दिनको क्वारेन्टिन अनिवार्य गरेको छ । यसपटक परीक्षार्थीले आफूलाई पायक पर्ने केन्द्रबाट परीक्षा दिने पाउने भएका छन् । आयोगको परीक्षा निर्देशनालयले केन्द्र तोक्ने र जनशक्ति व्यवस्थापनबारे समन्वय गरिरहेको छ ।’