काठमाडौं – जनता समाजवादी पार्टी नेपालको विवाद मिलाउन निर्वाचन आयोग तातेको छ । जसपा विवाद समाधानका लागि भन्दै आयोगले दुबै पक्षलाई आगामी २२ असारमा छलफलका लागिसमेत बोलाएको छ ।

आयोग प्रमुख आयुक्त दिनेश थपलियाका अनुसार जसपा दुबै पक्षलाई विवाद निरुपणका लागि छलफलमा बोलाइएको छ । सकेसम्म सहमति प्रयासबाटै विवाद निरुपण गर्ने नभए कानुनअनुसार अघि बढ्ने थपलियाले जानकारी दिनुभयो । प्रमुख आयुक्त थपलियाका अनुसार, ‘जसपा विवाद समाधानका लागि दुबै पक्षलाई छलफलमा बोलाएको छ, आयोगको पहिलो लक्ष्य सहमतिबाटै विवाद निरुपण होस् भन्ने छ, नभए आयोग कानुनअनुसार अघि बढ्छ ।’

आयोगमा उपेन्द्र यादव पक्षले गत ४ असारमा आधिकारिकता विवाद निरुपण गर्न माग गर्दै निवेदन बुझाएको थियो । जसमा ‘राजनीतिक दलसम्बन्धी ऐन २०७३ को दफा ४३ को खण्ड (ग) बमोजिम दलका पदाधिकारी, केन्द्रीय समिति वा केन्द्रीय समितिको निर्णयको आधिकारिकतासम्बन्धी विवाद निरुपण गरिपाउँ’ भनिएको छ ।