काठमाडौं– कोरोना सङ्क्रमणको जोखिम बढेपछि उपत्यका भित्रका ३ जिल्लामा निषेधाज्ञा लागु भएको आज ४३ दिन पुगेको छ । निषेधाज्ञाको कारण जनजीवन ठप्प छ । पछिल्लो समय कोरोना सङ्क्रमणको दरमा कमि आएको छ । यससँगै स्वास्थ्य सावधानीका साथ सेवा, व्यापार , जनजीवनलाई नियमित गर्नुपर्छ भन्ने आवाज पनि उठ्न थालेको छ । विभिन्न क्षेत्रको पेशा, व्यवसाय गर्नेले असार १ गतेदेखि अहिले लागुभएको निषेधाज्ञालाई खुकुलो बनाउनुपर्ने माग राखेका छन् ।

उपत्यका नगरपालिका फोरमका अध्यक्ष तथा काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले काठमाडौं उपत्यका भित्रिने र बाहिरिने नाकाहरुमा थप कडाइ गरेर उपत्यका भित्रको जनजीवन सुचारु गर्नुपर्ने बताएका छन् । निषेधाज्ञालाई एकैपटक नभइ चरण–चरण गरेर खुकुलो बनाउँदै लैजान सकिने मेयर शाक्य बताउनुहुन्छ ।

यस्तै उपभोक्ता अधिकारकर्मी प्रेमलाल महर्जनले सवारी साधन सञ्चालनमा रोक लगाउँदै र नाकाहरु बन्द गर्दै, स्वास्थ्य मापदण्ड पालना गराउँदै उपभोग्य वस्तुको पसल खोल्नुपर्ने बताएका छन् । निषेधाज्ञा मात्रै विकल्प नभएकाले विस्तारै खुकुलो बनाउनुपर्ने उनले बताए । स्वास्थ्य मापदण्ड अपनाउँदै फ्रन्टलाइनरहरुलाई काममा खटाउनुपर्ने पनि उनको भनाइ छ । खुद्रा व्यापार सङ्घका पूर्व अध्यक्ष पवित्रमान बज्राचार्यले असार १ गतेदेखि निषेधाज्ञा बिस्तारै खुला गर्नुपर्ने बताए । व्यापार व्यवसायमा गाह्रो परेको तथा निम्न आय भएका मानिसहरुलाई जीवन निर्वाहमा नै कठिन भएकाले सरकारले सोच विचार गरी निषेधाज्ञालाई खुकुलो पार्नुपर्नेमा उनले जोड दिएका छन् ।

नेपाल अटोमोवाइल्स् डिलर्स एशोसियसनका अध्यक्ष कृष्णप्रसाद दुलालले असार मसान्तसम्ममा सामान्य अवस्थामा पु¥याउने गरी बिस्तारै निषेधाज्ञालाई खोल्दै लानुपर्ने धारणा राखेका छन् । व्यवसाय बन्द गराइरहे कहिल्यै उठ्न नसक्ने भन्दै उनले आर्थिक अवस्था पनि कमजोर हुने बताए । नागरिक सुरक्षित हुनका लागि आफैमा जिम्मेवार हुनुपर्ने पनि उनको भनाइ छ । यस्तै होटल सङ्घ नेपालका उपाध्यक्ष विनायक शाहले विश्व स्वास्थ्य सङ्गठनको मापदण्ड पालना गराएर व्यवसाय सञ्चालन गर्न दिनुपर्ने बताएका छन् । सरकारका विभिन्न मन्त्रालयहरुबीच स्पष्ट नीति र समन्वय नभएको भन्दै उनले कसरी खुल्ला गर्ने भन्ने सम्बन्धमा सरकारको स्पष्ट नीति आउनुपर्ने पनि बताएका छन् ।

वायु सेवा सञ्चालक सङ्घका प्रथम उपाध्यक्ष अनुज रिमालले विगतमा अन्य क्षेत्रको भन्दा वायु सेवामा जनस्वास्थ्यको मापदण्ड कडाइका साथ पालना गरिएको र आगामी दिनमा पनि कडाइका साथ पालना गरिने भन्दै अर्थतन्त्रलाई चलायमान बनाउनको लागि वायु सेवालाई सञ्चालन गरिनुपर्ने बताए । पर्यटन व्यवसायी सुदर्शन नेपालले पर्यटन क्षेत्रका व्यवसायी र मजदुरले कोरोना विरुद्धको दुवै मात्रा खोप पाइसकेको अवस्था रहेकाले जनस्वास्थ्यको मापदण्ड पालना गराउँदै यस व्यवसायलाई सञ्चालन गर्न दिइनुपर्ने बताएका छन् । पर्यटन व्यवसायलाई चलायमान बनाउन लकडाउन खुकुलो बनाउँदै लानुपर्ने उनको भनाइ छ ।