काठमाडौं – अघिल्लो साता मन्त्रिपरिषद् पुनर्गठन गर्नु भएका प्रधानमन्त्री ओलीले फेरि मन्त्रिपरिषद विस्तार गरी आज बिहीबार नेकपा एमालेमा आफ्नो समूहका मानिसहरूलाई मन्त्रिमण्डलमा समावेश गर्न लाग्नु भएको हो । प्रधानमन्त्रीले बिहीबार विस्तार गर्न लागेको मन्त्रिमण्डलमा गणेश पहाडी सामान्य प्रशासन मन्त्री बन्ने हुनुभएको छ ।

पहाडी केही समयअघिसम्म एमाले वरिष्ठ नेता माधवकुमार नेपाल समूहमा हुनुहुन्थ्यो । नवौं महाधिवेशनमा उहाँ नेपालको प्यानलबाट वैकल्पिक केन्द्रीय सदस्य निर्वाचित हुनुभएको थियो । वैशाख २७ गते संसदमा प्रधानमन्त्री ओलीले विश्वासको मत लिँदा पहाडी अनुपस्थित रहनु भएको थियो ।

पछिल्लो समय राष्ट्रपति कार्यालयमा नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन बुझाइएको पत्रमा उहाँको पनि हस्ताक्षर थियो । आफूले माधवकुमार नेपाललाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गरेको भए पनि देउवाका पक्षमा बुझाइएको भन्दै असन्तुष्ट व्यक्त गर्नुभएको थियो ।