काठमाडौं – प्रदेश सरकारले आज बिहीबार ४ वटै प्रदेशको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रदेश सभामा पेस गर्ने भएको छ । असार १ गते बजेट ल्याउनु पर्ने कानुनी व्यवस्था अनुसार आज बिहीबार प्रदेश १, प्रदेश २, बागमती प्रदेश र सुदूरपश्चिम प्रदेश सरकारले आफ्नो नीति तथा कार्यक्रम संसदमा पेस गर्न लागेको हो । बजेट ल्याउनुभन्दा १५ दिनअगावै नीति तथा कार्यक्रम ल्याउनुपर्ने कानुनी व्यवस्था भए पनि सबै प्रदेशले यस वर्ष ढिलो गरी नीति तथा कार्यक्रम सार्वजनिक गर्न लागेका हुन् । राजनीतिक उतारचढावका कारण बजेट अधिवेशन बोलाउन नै ढिलाइ गरेको सरकारले अध्यादेशमार्फत आर्थिक कार्यविधि ऐन संशोधन गरेका छन् ।

प्रदेश १ : प्रदेश १ मा प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीले अपरान्ह ३ बजे बस्ने प्रदेश सभामा नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यक्रम रहेको छ। यसका लागि सांसदहरुलाई निर्धारित समयको १५ मिनेटअघि नै प्रदेशसभा भवन पुग्न निर्देशन दिइएको छ । सोमबार प्रदेशसभा बैठकमा आर्थिक मामिला तथा योजनामन्त्री टंक आङ्बुहाङ्गले आर्थिक वर्ष २०७८ ७९ को विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकता प्रस्तुत गर्नुभएको थियो । विनियोजन विधेयकमाथिको छलफल बुधबार नै सकिएको छ । कोरोना भाइरसको महामारीका कारण छलफललाई छोट्याइएको थियो । कोरोनाका कारण देखाउँदै प्रदेश सरकारले आर्थिक ऐन संसोधन गदै १५ दिनको प्रि बजेटको समय पाँच दिनमा झारेको थियो । १५ दिनको समयसिमा छोट्याएर पाँच दिनमान झारेपछि विपक्षी दलहरु सत्तापक्षसँग रुष्ट बनेका थिए ।

प्रदेश २ : प्रदेश २ मा प्रदेश प्रमुख राजेश झा अहिराजले आज दिउँसो २ बजे प्रदेश सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै हुनुहुन्छ । नीति तथा कार्यक्रमको लागि समयमै उपस्थित हुन सभामुख सरोज कुमार यादवले प्रदेशसभा सदस्यहरुलाई जानकारी गराउनु भएको थियो । बुधबार नेपाली काङ्ग्रेस सरकारमा सहभागी भएसँगै बिहिबार नीति तथा कार्यक्रम प्रस्तुत गर्न लागेको हो । नीति तथा कार्यक्रम पारित भएपछि असार १ गते प्रदेश सरकारको बजेट ल्याउने योजना छ ।

बागमती प्रदेश : बागमती प्रदेश प्रमुख बिष्णुप्रसाद प्रसाईंले आज दिउँसो ३ बजे बस्ने प्रदेश सभा बैठकमा नीति तथा कार्यक्रम प्रस्तुत गर्नुहुने कार्यक्रम छ । बागमतीमा प्रि–बजेटमाथि १७ जेठ सोमबार प्रदेश सभामा छलफल गरेर बैठक स्थगित गरेको थियो । बिहीबार प्रदेश सभामा नीति तथा कार्यक्रम प्रस्तुत र छलफलपछि १ असारमा आगामी आर्थिक वर्षको बजेट ल्याउने तयारी गरिरहेको छ । तर मुख्यमन्त्री डोरमणि पौडेलको सरकार अल्पमतमा रहेको दाबी गर्दै नीति तथा कार्यक्रम पारित गर्न नदिने विपक्षीको अडान छ ।

सुदूरपश्चिम प्रदेश : सुदूरपश्चिम प्रदेश सरकारले आज आर्थिक वर्ष २०७८÷०७९ का लागि नीति तथा कार्यक्रम प्रदेशसभामा प्रस्तुत गर्ने क्रम छ । आज अपरान्ह ४ बजे बस्ने प्रदेशसभाको बैठकमा प्रदेश प्रमुख गंगाप्रसाद यादवले नीति तथा कार्यक्रम पेस गर्ने कार्यसूची रहेको प्रदेशसभा सचिवालयले जानकारी दिएको छ ।