काठमाडौं – देशको समसायिक राजनीतिका विषयमा छलफल गर्न सभामुख अग्निप्रसाद सापकोटाले आजका लागि बोलाउनु भएको सर्वदलीय बैठकमा एमालेका अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली नजाने हुनुभएको छ । सभामुख सापकोटाले भोली शुक्रबार दिउँसो २ बजे संसद् भवनमा सर्वदलीय बैठक आह्वान गर्नु भएको छ ।

प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार प्रधानमन्त्री उक्त बैठकमा जानुहुन्न । थापाले भने ‘प्रधानमन्त्रीको नाममा पार्टी कार्यालयमा पत्र पुगेको रहेछ । प्रधानमन्त्रीको कार्यालय सिंहदरबार हो, प्रधानमन्त्रीलाई पत्र पठाउने त्यसरी होइन । भेटेर छलफल गर्ने हो । यसरी बोलाएको बैठकमा उहाँ सहभागी हुनुहुन्न ।

प्रधानमन्त्री केपी शर्मा ओलीले विपक्षी गठबन्धनमा बहुमत हुँदाहुँदै प्रक्रिया–पद्धति मिचेर संसद् विघटन गरेको भन्दै विपक्षी गठबन्धन १४६ सांसदको हस्ताक्षर लिएर अदालत पुगेको छ । मुद्दामाथि सुनुवाइ सुरु भएको छ । सभामुख जारी संवैधानिक र राजनीतिक संकटको समाधान के हुन्छ भनेर छलफलमा जुटिरहेका छन् । यता, एमालेका असन्तुष्ट खेमाको नेतृत्व गरिरहेका वरिष्ठ नेताद्वय झलनाथ खनाल र माधवकुमार नेपाल भने बैठकमा सहभागी हुनुहुने छ ।