काठमाडौं– नेपाली काङ्ग्रेसको १४ औं महाधिवेशन आगामी तीन महिना पछि हुने भएको छ । सभापति शेरबहादुर देउवाले पार्टीको १४ औं महाधिवेशनमा आउँदो भदौमै हुन बताउनु भएको हो ।

सभापति देउवाले आज एक विज्ञप्ती जारी गर्दै निर्धारित मितिमै पार्टीको १४ औं महाधिवेशन हुने बताउनु भएको हो । काङ्ग्रेसले भदौ ७ देखि १० सम्म महाधिवेशनको मित तय गरेको छ । यद्यपि क्रियाशील सदस्यता वितरणको काम अझै सकिएको छैन । तर पनि देउवाले पार्टीको महाधिवेशन प्राविधिक वा प्रशासनिक विषय मात्र नभएर महत्वपूर्ण राजनीतिक अभियान भएकाले यसमा आफु पूर्ण प्रतिवद्ध भएको विज्ञप्तीमा उल्लेख गर्नुभएको छ ।

विज्ञप्तीमा ‘महाधिवेशनको विषयलाई लिएर विभिन्न कुरा उठ्ने गरेको मैले सुनेको छु । पार्टीको महाधिवेशन सम्पन्न गर्ने विषयलाई विवादित बनाउने वा कसैले महाधिवेशन गर्न चाहेको र कसैले नचाहेको देखाउने गरी पटक–पटक आउने गरेका अभिव्यक्ति किमार्थ उचित होइनन्’ भनिएको छ । महाधिवेशनको विषयलाई लिएर कसैले पनि भ्रममा राख्ने वा भ्रममा रहने काम गर्न नहुने बताउँदै उनले पार्टीका सबै नेता र सदस्यहरु मिलेर सम्पन्न गर्ने कार्य भएको सभापति देउवाले बताउनु भएको छ । असार र साउन दुई महिना भित्र महाधिवेशनका लागि सबै पूर्व तयारी गर्नु पर्ने देउवाकोे भनाइ छ ।

पार्टीको क्रियाशील सदस्यताको व्यवस्थापन, वडादेखि प्रदेश तहसम्मका अधिवेशनहरुको तयारी लगायत महाधिवेशनका सबै तयारी गर्नुपर्ने ‘भन्दै पार्टी सभापति देउवाले यस निमित्त निर्वाचन समिति, क्रियाशील सदस्यता छानविन समिति गठन भई काम गरिरहेको र पार्टीको महाधिवेशन सम्पन्न गर्न आवश्यक सबै कार्य समयमा गरिने बताउनु भएको छ । सभापति देउवाले थपेको डेढ वर्षको कार्यकाल सकिने भएकाले भदौमा जसरी पनि महाधिवेशन गर्न काङ्ग्रेसलाई दवाव छ । देशमा कोरोना भाइरसको सङ्क्रमणको अवस्थालाई हेर्दा स्थानीय तहदेखि प्रादेशिक तहसम्मका अधिवेशन गर्न पनि समस्या हुन सक्दछ । यस्तो अवस्था भएमा काङ्ग्रेस महाधिवेशन पुनः प्रभावित हुने देखिन्छ ।