काठमाडौं – सर्वोच्च अदालतले संसद् विघटनको मुद्दामा बहसका लागि एउटा पक्षलाई १५ घण्टा समय सीमा तोकेको छ । रिट निवेदक पक्षले सुरुमा १२ घण्टा र प्रत्युत्तर बहसका लागि ३ घण्टा गरी १५ घण्टाको समय निर्धारण गरिएको हो । त्यस्तै सरकारका तर्फबाट पनि बहसका लागि १५ घण्टाकै समय तोकिएको छ ।
प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको नेतृत्वमा रहेको संवैधानिक इजलासले प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दामा बहसको समय तोकेको हो । उक्त इजलासले यो मुद्दामा ४ जना एमिकस क्युरी (अदालतको सहयोगी) पनि माग गरेको छ । जसमा नेपाल बार एशोसिएसनबाट २ जना र सर्वोच्च अदालत बार एशोसिएसनबाट २ जना गरी चार जनाको एमिकस क्युरी हुनेछ । एमिकस क्युरीका एक जनाले बढीमा आधा घण्टा बहस गर्दा चारजनाको कुल बहसको समय दुई घण्टा हुनेछ ।

यो मुद्दामा बहस गर्ने सबै कानुन व्यवसायी र एमिकस क्युरीलाई असार १० गतेसम्म संवैधानिक इजलासमा बहस नोट पेशगर्न आदेश दिएको छ । यसअघि गत पुसमा भएको संसद् विघटनसम्बन्धी रिटमा पनि सर्वोच्च अदालतले नेपाल बार एसोशिएनबाट ३ जना र सर्वोच्च बारबाट २ जना गरी पाँच जनाको एमिकस क्युरी माग गरेको थियो ।