काठमाडौं – स्वास्थ्य तथा जनसंख्यामन्त्री शेरबहादुर तामाङले कोरोना विरुद्धको खोपका लागि अब खेलाडी र खेल क्षेत्रका व्यक्तिहरुलाई पनि प्राथमिकता दिने बताउनु भएको छ । नेपाल खेलकुद महासङ्घको ज्ञापनपत्र बुझ्दै मन्त्री तामाङले केही दिनमै कोभिड–१९ विरुद्धको खोपको सन्दर्भमा सकारात्मक समाचार आउने भन्दै आगामी दिनमा फ्रन्टलाइनमा खट्ने खेल क्षेत्रका व्यक्तिहरुलाई पनि प्राथमिकता दिइने बताउनुभयो ।
उहाँले सरकार कोभिड–१९ सँगसँगै अन्य रोगको उपचार पनि जनतालाई कसरी सहज बनाउन सकिन्छ भनेर लागिरहेको र ‘खोपलाई प्राथमिकताका साथ अगाडि बढाएका छौं । आएको खोपको सीमितताको कारण उमेर समूहलाई छुट्याएर गरिरहेका छौं । सम्भवतः केही दिनभित्रै कोभिडको भ्याक्सिन सम्बन्धी सकारात्मक समाचार तपाईंहरुले पाउनुहुनेछ, । मन्त्री तामाङले ‘पहिले हामीले फ्रन्टलाइनमा खट्ने सञ्चारकर्मी, पत्रकारलाई लगायौं, तर खेलाडी, खेलकुद क्षेत्र प्रवेश गर्न सकेको छैन । तर अब यस्ता विभिन्न क्षेत्र लगायत फ्रन्टलाइनमा खटिरहनुभएको छ उहाँहरुलाई पनि लक्षित गरी भ्याक्सिनको परिणाम बढी ल्याउन सक्यौं भने त्यो पनि ध्यान दिन्छौं । कोभिडसँगै अन्य उपचार पनि कसरी सहज बनाउन सकिन्छ भनेर अध्ययन गरेर अगाडि बढेका छौं ।’
मन्त्री तामाङलाई ज्ञापनपत्र बुझाउँदै नेपाल खेलकुद महासङ्घले खेलाडी लगायत खेल क्षेत्रका लागि काठमाडौं उपत्यकामा ५ हजार मात्रा तथा प्रदेश र जिल्लामा आवश्यकता अनुसार कोभिड–१९ विरुद्धको खोप उपलब्ध गराउन सरकारसँग आग्रह गरेको छ । यसैगरी आगामी दुई महिनाभित्र प्रत्येक नागरिकले खोप लगाउन सक्नेगरी व्यवस्था गर्न, पीसीआर परीक्षणलाई सहज बनाउन र खेलकुद क्षेत्रलाई प्राथमिकता दिई राष्ट्रिय खेलकुद परिषद् त्रिपुरेश्वरमा खोप केन्द्र सञ्चालन गर्न महासङ्घले सुझाव समेत दिएको छ ।