काठमाडौं –राष्ट्रिय परीक्षा बोर्डले विद्यालय तहको अन्तिम परीक्षाका रूपमा रहेको कक्षा १२ को परीक्षाको सम्बन्धमा असार १५ गतेपछि मात्रै निर्णय हुने जनाएको छ । राष्ट्रिय परीक्षा बोर्डका सदस्यसचिव दुर्गाप्रसाद अर्यालका अनुसार कक्षा १२ को परीक्षाका सम्बन्धमा असार १५ गतेपछि मात्रै निर्णय हुन्छ । सदस्यसचिव अर्यालले कक्षा १२ को परीक्षाको मोडालिटीका सम्बन्धमा छलफल भइरहेको र यसबारे असार १५ गतेपछाडि मात्रै निर्णय हुने बताउनुभयो । ‘कक्षा १२ भनेको विद्यालय तहको अन्तिम परीक्षा हो । त्यसकारण यसलाई अलि विशेष रूपले हेर्नुपर्ने हुन्छ । हामी परीक्षा कसरी लिने भन्ने सम्बन्धमा छलफल गरिरहेका छौँ । यसका लागि अब कम्तीमा असारको १५ गतेसम्म कुर्नुपर्ने हुन्छ । त्यसपछि हामी कुन मोडालिटीमा कसरी परीक्षा लिने भनेर निर्णय गर्नेछौँ ।’

कक्षा १२ को आन्तरिक मूल्याङ्कनका बारेमा सदस्यसचिव अर्यालले कक्षा १२ पछि नै विश्वविद्यालयको पढाइ सुरु हुने, एमबीबीएस, बीएससी नर्सिङ लगायतका उच्च शिक्षा तथा विदेशमा अध्ययनका लागि जाने भएकाले क्वालिटी कन्ट्रोलको विषय पनि हुन्छ । त्यसकारण आन्तरिक मूल्याङ्कनबाटै नतिजा प्रकाशन गर्ने कुरा केही जटिल छ । यद्यपि हामी यतिबेला परीक्षाको मोडालिटीको सम्बन्धमा छलफल गरिरहेका छौँ ।’ तर फेरि पनि सङ्क्रमण दर बढेको र लकडाउन लम्बिएको अवस्थामा उहाँले गत वर्ष मङ्सिरमा परीक्षा गरेको तर यसपटक मङ्सिरसम्म कुर्नु नपर्ने भन्दै आफूहरू सकेसम्म भौतिक रूपमै विद्यार्थीले लेखेर परीक्षा दिने व्यवस्था गराउन लागिपरेको बताउनुभयो । त्यो अवस्था नआएमा पनि विद्यार्थीले कुनै न कुनै विधिबाट परीक्षा दिएरै नतिजा प्रकाशन गर्ने गरी काम गरिरहेको सदस्यसचिव अर्यालले जानकारी दिनुभएको छ ।

शिक्षाविद् डा. महाश्रम शर्मा पनि कक्षा १२ विद्यालय तहको अन्तिम परीक्षा भएको कारणले पनि आन्तरिक मूल्याङ्कनबाट नतिजा प्रकाशन गर्दा पछि समस्या आउने सक्ने बताउनुहुन्छ । शिक्षाविद् डा. शर्माका अनुसार, परीक्षा प्रणालीमा परिवर्तन गर्नुपर्ने छ, त्यो त ठीकै हो । १ वर्ष पढेको कुरा ३ घण्टाको परीक्षाबाट मूल्याङ्कन गर्नु गलत हो, त्यसकारण परीक्षाको मोडालिटी परिवर्तन गर्नैपर्छ । तर यो परिस्थिति आउला र विद्यार्थीको मूल्याङ्कन गर्नुपर्छ भन्ने उद्देश्यबाट अहिले अध्यापन भएको होइन । त्यसकारण आन्तरिक मूल्याङ्कनबाट नतिजा लिने कुरा हुन सक्दैन । कुनै न कुनै विधिबाट विद्यार्थीको परीक्षा लिएर नै नतिजा प्रकाशन गर्नुपर्छ ।’ ‘राष्ट्रिय परीक्षा बोर्डले मिहिनेत गरे अहिले पनि परीक्षा लिन गाह्रो छैन । गतवर्ष पनि परीक्षा लिएकै हो । त्यसकारण यस वर्ष नसकिने भन्ने कुरा भएन । गत वर्ष डेढ घण्टा गर्न सकियो भने अहिले २ घण्टा परीक्षा लिन किन सकिँदैन । सुरक्षाका मापदण्ड अपनाएर सकेसम्म भौतिक रूपमै परीक्षा लिनुपर्छ ।’