काठमाडौं – प्रधानमन्त्रीले दोस्रो पटक गरेको सङ्घीय संसद विघटनविरुद्धको रिटमाथि आज बुधबार सुनुवाइ हुने भएको छ । आइतबार संवैधानिक इजलासका दुई न्यायाधीशमाथि सरकारी पक्षका वकिलहरुले प्रश्न उठाएपछि हेर्दाहेर्दैमा स्थगित भएको इजलास सोमबारका लागि सारिएको थियो । प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जवरा बिरामी भएपछि सोमबारको सुनुवाइ स्थगित भएपछि आज बुधबारको लागि संवैधानिक इजलास बस्न लागेको हो ।
आइतबार बसेको संवैधानिक इजलासमा सरकारी वकिलले न्यायाशीधद्वय दीपककुमार कार्की र आनन्दमोहन भट्टराईको विषयमा प्रश्न उठाएपछि त्यसदिन पनि संसद विघटनसम्बन्धी रिटमा खासै बहस हुन सकेन । आज बस्ने इजलासमा न्यायाशीधद्वय कार्की र भट्टराई संवैधानिक इजलासमा बस्ने या नबस्ने भन्ने निर्णय गरिने छ । यदी दुवै न्यायाधीशले निरन्तता पाएको खण्डमा आज संसद विघटनको रिटमाथि बहस हुन सक्नेछ । अन्यथा संवैधानिक इजलास पुनर्गठन गर्ने निर्णय भएमा आज पनि उक्त रिट निवेदनमाथि बहस हुने सम्भावना न्यून हुनेछ ।
न्यायाशीधद्वय दीपककुमार कार्की र आनन्दमोहन भट्टराई आफुहरुप्रति विवाद उत्पन्न भएको कारण संवैधानिक इजलासमा बस्न अनिच्छुक भएको अवस्थामा संवैधानिक इजलास पुनर्गठन गर्नुपर्ने हुन्छ । सवैधानिक इजलास पुनर्गठन गर्नुपर्ने अवस्था आएमा आज पनि संसद् विघटनविरुद्धको रिट निवेदनमाथि बहस हुनेछैन ।
प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जवराले २३ गते आइतबार वरिष्ठताको आधारमा न्यायाधीश दीपककुमार कार्की, मिरा ढुङ्गाना, ईश्वरप्रसाद खतिवडा र आनन्दमोहन भट्टराई रहनेगरी संवैधानिक इजलास पुनर्गठन गर्नुभएको थियो ।