काठमाडौं – सरकारविरूद्ध प्रदर्शन गरेका नेविसङ्घका कार्यकर्ता पक्राउ परेका छन् । काठमाडौंको प्रदर्शनीमार्गमा प्रदर्शन गरेका नेविसङ्घ कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको हो । नेविसङ्घ महामन्त्री दीपक भट्टराईद्वारा सरकारले नदीजन्य पदार्थ निकासी गर्नेबारे बजेटमा समावेश गरेका कार्यक्रम फिर्ता लिन माग गरिएको छ । सरकारले अध्यादेशमार्फत् ल्याएको बजेटमा ढुङ्गा, गिटी र बालुवा निकासी गर्दै व्यापार घाटा कम गर्ने उल्लेख थियो ।
यस्ता निर्णयले चुरे दोहन हुने भन्दै नेविसङ्घ विरोधमा उत्रिएको छ । ‘एकपछि अर्को असंवैधानिक कदम यो सरकारले चालेको छ,’ महामन्त्री भट्टराईले भन्नुभयो, ‘निषेधाज्ञाका बेला पनि बाध्य भएर प्रदर्शन गरिएको हो ।’ नेविसङ्घका नेताहरू सञ्जिव ढकाल, मनिष खड्का क्षेत्री, रमेश खड्का, सम्राट क्षेत्रीलगायतलाई प्रहरीले पक्राउ गरेकोले विनाशर्त छिटो रिहाइ गर्न भट्टराईले माग गर्नु भएको छ ।
सरकारले नदीजन्य पदार्थ निकासी गर्नेबारेको निर्णय फिर्ता नलिएसम्म प्रदर्शन र विरोधका कार्यक्रम नेविसङ्घले जारी राख्ने पनि महामन्त्री भट्टराईले बताउनुभयो । यस्तै नेविसङ्घ अध्यक्ष राजिब ढुङ्गानाले विज्ञप्ति निकालेर पक्राउ परेकाहरूलाई विनाशर्त रिहाइ गर्न माग गरेका छन् ।