काठमाडौं – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा विघटन गरिएको प्रतिनिधिसभा पुनः पुनर्स्थापना हुने विश्वास व्यक्त गर्नु भएको छ । तामाङ राष्ट्रिय मुक्ति मोर्चा नेपालको केन्द्रीय कमिटीको भर्चुअल बैठकलाई सम्बोधन गर्दै माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले अहिले नाङ्गो रुपमा संसद् विघटन गरिएकाले पुनर्स्थापना हुने जिकिर गर्नुभयो । ‘अदालतले पनि अन्ततः हेर्ने भनेको संविधान हेर्ने हो ।’ प्रचण्डले भन्नुभयो, ‘ओलीले  गत ५ पुसमा पनि संसद विघटन गर्नुभयो, हामीले लडेर संसद फिर्ता ल्यायौँ, त्यतिबेला पनि मैले हामी जिउँदै छौँ भनेको थिएँ, अहिले त झन् नाङ्गो रुपमा संसद विघटन गरिएको छ, संसद पुनर्स्थापना हुन्छ ।’
   पहिलो चोटी गरिएको संसद विघटनको बेला काङ्ग्रेस पनि ढुलमुले चरित्रमा रहेको उल्लेख गर्दै प्रचण्डले, ‘पहिलोपटक चाहिँ नेपाली काङ्ग्रेस पनि के हो, के हो भन्नेमा थिएँ, अहिले त काङ्ग्रेस पनि यो प्रतिगमन नै हो भन्नेमा छन् । जनता समाजवादी पार्टीका उपेन्द्रजीहरु पनि साथमा छन् । माधवजीहरु पनि सँगै छौं । जनमोर्चा पनि साथमा छौं ।’ अदालतबाट संसद पुनर्स्थापना हुने र त्यसपछि सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको पक्षधरताको सरकार बन्ने विश्वास समेत प्रचण्डले व्यक्त गर्नुभयो । उहाँका अनुसार, ‘अहिलेको हाम्रो लडाई संविधान र यसभित्र भएको संघीय लोकतान्त्रिक गणतन्त्र जोगाउने मुख्य चुनौती छ ।’ संविधान र लोकतन्त्र रक्षाका लागि पाँच दल एकै ठाउँमा दह्रो ढङ्गले उभिरहेको पनि उहाँले बताउनु भयो ।