काठमाडौं – सरकारले आगामी १ असारदेखि नयाँ शैक्षिकसत्र सञ्चालन गर्ने भएको छ । आइतबार शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठले मन्त्रालयका उच्चपदस्थ अधिकारीसँग छलफल गर्दै वैकल्पिक विधि प्रयोग गरेर शैक्षिकसत्र सुरु गर्ने निर्णय गरेको हो । यसको सञ्चालन र व्यवस्थापनको जिम्मा स्थानीय तहको भएकाले उसैले वैकल्पिक सिकाइ कार्यविधि कार्यान्वयन गरी कक्षा सञ्चालन गर्न सक्ने मन्त्रालयले बताएको छ ।
मन्त्रालयका प्रवक्ता दीपक शर्माले विद्यार्थीको सिकाइलाई रोक्न नहुने भएकाले वैकल्पिक माध्यमबाटै भए पनि सिकाइलाई निरन्तरता दिन शैक्षिकसत्र सुरु गर्न लागिएको बताउनुभयो । ‘विद्यार्थी जो जहाँ छन्, त्यहाँ बसेर आफ्नो सिकाइलाई निरन्तरता दिन सकून् भनेर सुरु गरिएको हो,’ उहाँले भन्नुभयो, ‘विद्यार्थीको मूल्याङ्कन भने विभिन्न विधि प्रक्रिया अपनाएर स्थानीय सरकार र विद्यालय स्वयम्ले गर्न सक्छ ।’ पाठ्यपुस्तकको सन्दर्भमा भने अघिल्लो वर्षमा झैँ विद्यार्थीको घरघरमै उपलब्ध गराउने व्यवस्था मिलाउने शर्माले बताए ।
के पाठ्यपुस्तक तयार छन् त ?
जनक शिक्षा सामग्री केन्द्र लिमिटेडका प्रवक्ता चित्रकुमार आचार्य यस वर्षका लागि पुस्तक छपाइको काम सकिइसकेको बताउँछन् । ‘हामीले किताब छापेर सबै वितरण केन्द्रमा पु¥याइसकेका छौँ,’ उनले भने, ‘हामीले वितरण पनि सुरु गरिसकेका छौँ, अब विभिन्न स्थानीय तह र स्कुलबाट लिन आउन सक्नुहुन्छ ।’ जनक शिक्षा सामग्री केन्द्रका सातवटै प्रदेशमा कार्यालय छन् । नेपालगञ्जमा रहेको प्रेस र केन्द्रीय कार्यालयसहित देशभर नौवटा कार्यालय सञ्चालनमा छन् । ती कार्यालयबाट पुस्तक स्थानीय तहहरूले लग्न सक्ने उहाँले बताउनुभयो । यस वर्ष १ कारोड ८४ लाख पुस्तक छापिएको प्रवक्ता आचार्यले जानकारी दिए । त्यसैले कुनै पनि विद्यार्थीका लागि पुस्तक अभाव नहुने उहाँले दाबी गर्नुभयो ।
कुन–कुन कक्षाका पाठ्यक्रम परिवर्तन भए ?
अन्य कक्षाका लागि पुरानै पुस्तकले काम गरे पनि २, ३ र ६ कक्षाका विद्यार्थीका लागि भने काम नगर्ने बताउँछन्, पाठयक्रम विकास केन्द्रका निर्देशक गणेशप्रसाद भट्टराईले बताउनुभयो । उनका अनुसार पाठ्यक्रम विकास केन्द्रले छापाखानाहरूलाई किताबको विषयवस्तु दिई ओरी छाप्ने काम सक्किइसकेको छ । ‘६ कक्षाको किताब जनक शिक्षाले छाप्छ,’ उनले भने, ‘२ र ३ का पुस्तक निजी सूचीकरण भएका मुद्रकले छापेका छन् । र, उनीहरूलाई पनि बिक्री–वितरणको स्वीकृति दिइसकेका छौँ ।’अहिले जनशिक्षाबाट पुस्तकहरू क्षेत्रीय कार्यालयमा पुगिसकेकाले १ असारबाटै विद्यार्थीले पाउने निर्देशक भट्टराईले बताए । अब स्थानीय तह र विद्यालयले पुस्तक लैजान सक्ने उहाँले बताउनुभयो ।
महामारीको असहजताले पुस्तक लिन जान नसक्नेले के गर्ने ?
त्यसका लागि आफूहरूले अनलाइनमा पुस्तकका विषयवस्तु राख्दिने काम गरिरहेको भट्टराईले बताए । उहाँले भन्नुभयो, ‘१ असारदेखि नै हामी परिवर्तन भएका पुस्तकहरू नेटबाट सार्वजनिक गर्छौं । पाठ्यक्रम विकास केन्द्रको वेबसाइटमा हाल्छौं । हातमा किताब नहुनेले अनलाइनमा पढ्न चाहेको अवस्थामा काम लाग्छ भनेर त्यसो गर्न लागिएको उहाँको भनाई छ ।