काठमाडौं – राष्ट्रिय परीक्षा बोर्डले माध्यामिक शिक्षा परीक्षा (एसईई) मूल्याङ्कनका लागि नयाँ कार्यविधिको तयारी गरेको छ । बोर्डका अध्यक्ष प्रा.डा.चन्द्रमणि पौडेलका अनुसार,यो वर्ष पनि आन्तरिक मूल्याङ्कनबाट एसईईको नतिजा सार्वजनिक गर्ने भएपछि त्यसका लागि कार्यविधि बनाउन लागिएको हो । अध्यक्ष पौडेलले भन्नुभयो– ‘कार्यविधिको ड्राफ्ट तयार भइरहेको छ । यो महिनाभित्र सकेर मूल्याङ्कन गर्न निर्देशन दिन्छौं ।’
  गतवर्ष एसईईको नतिजाका लागि राष्ट्रिय परीक्षा बोर्डले एसईई कक्षा १० को मूल्याङ्कन, नतिजा प्रकाशन तथा प्रमाणीकरण कार्यविधि, २०७७ जारी गरेको थियो । सोही कार्यविधि अनुसार विद्यालयको प्रधानाध्यापक, कक्षा शिक्षक र अनुभवी शिक्षक गरी तीन सदस्यीय मूल्याङ्कन समिति गठन गरी विद्यार्थीको मूल्याङ्कन गरिएको थियो । समितिले पहिलो त्रैमासिक अवधिको मूल्याङ्कन १० प्रतिशत, दोस्रो त्रैमासिक अवधिको मूल्यांकन ३० प्रतिशत र शैक्षिक सत्रको अन्त्यसम्ममा निर्धारित सबै विषयवस्तु मूल्याङ्कन गरी परीक्षाफल प्रकाशित गरेको थियो ।
  यस वर्षको मूल्याङ्कन विधि गत वर्षकोभन्दा फरक हुने अध्यक्ष पौडेलले बताउनुभएको छ । के–के फरक हुन्छ भन्ने विषय नखुलाई उहाँले भन्नुभएको छ–‘गत सालको भन्दा अलि–अलि फरक हुन्छ ।’कोरोना भाइरस महामारीको दोस्रो लहर फैलिएपछि जेठ १३ गतेबाट तय भएको एसईई परीक्षा स्थगित भएको थियो । आन्तरिक मूल्याङ्कन विधि अनुसार गराउने शिक्षा मन्त्रालयको प्रस्ताव मन्त्रीपरिषदले स्वीकृत गरेपछि बोर्डले मूल्याङ्कन कार्यविधि तयार गर्न लागेको हो ।