धनगढी – नेकपा माओवादी केन्द्रका नेतासमेत रहेका सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले विश्वासको भारीमत प्राप्त गर्नु भएको छ । मुख्यमन्त्री भट्टको पक्षमा ३० मत परेको छ । मुख्यमन्त्री भट्टलाई माओवादी केन्द्रका १३ जना र एमाले खनाल–नेपाल समूहका १७ ले विश्वासको मत दिएका हुन् । खनाल–नेपाल समूहले विश्वासको मत दिएपछि भट्ट नेतृत्वको सरकार जोगिएको हो ।

एमालेका २४ जना प्रदेशसभा सांसद् मध्ये ओली समूहका ७ जना र जनता समाजवादी पार्टीको महन्थ ठाकुर पक्षका दुवै जना गरी विश्वासको मतको विपक्षमा जम्मा ९ मत परेको थियो । नेपाली काङ्ग्रेस भने तटस्ठ बसेर कुनै पनि पक्षमा मत जाहेर गरेन । यद्यपि, नेपाली काङग्रेस संसदीय दलको बैठकले मुख्यमन्त्री भट्टको पक्षमा मत दिने निर्णय गरे पनि बहुमत प्राप्त हुने भएपछि मतदानमा सहभागी नभएको जनाएको छ । काङ्ग्रेसका १२ जना सांसद छन् ।

विपक्षमा मतदान गर्नेहरुमा एमाले ओली समूहका पठानसिंह बोहरा, रतन थापा, लिलाधर भट्ट, माया बोहरा, गेल्बुसिङ बोहरा, बलदेव रेग्मी र नेपालु चौधरी हुन् भने जसपाका कृष्ण चौधरी र मालामती रानाले पनि विपक्षमा मतदान गरेका हुन् ।