फाइल तस्बिर
काठमाडौं – नेकपा ओली समूहको स्थायी कमिटी सदस्य टोपबहादुर रायमाझीले आफु माओवादी केन्द्रमा नफर्किने खुलासा गरेका छन् । पूर्वमाओवादी नेता रायमाझी २०७५ जेठ ३ गते एमाले र माओवादी केन्द्रबीच पार्टी एकता भएपछि तात्कालिन नेकपाको स्थायी कमिटीका सदस्य थिए । सर्वोच्च अदालतले गत फागुन २३ गते नेकपालाई पूर्ववत एमाले र माओवादी केन्द्रमा विभाजन गरिदिए पछि उनीसहित रामबहादुर थापा बादल, लेखराजभट्ट, मणिचन्द्र थापा, प्रमु साहलगायतका नेताहरु एमालेमै बसेका छन् ।
टोपबहादुर रायमाझी सहित पूर्वमाओवादीका नेताहरु प्रधानमन्त्री ओलीको मन्त्रिपरिषदमा रहेका सात जना मन्त्रीहरुलाई सांसद नभएको भन्दै सर्वोच्च अदालतले वर्खात गर्न आदेश दिएको थियो । त्यसपछि उनीहरु सरकार विस्थापित भएका थिए । एमाले स्थायी कमिटी सदस्य रायमाझी पुनः पूर्ववत पार्टी नेकपा माओवादी केन्द्रमा फर्किन लागेको कुरा सामाजिक सञ्जातमा भाइरल बन्दै आएको छ । तर रायमाझीले अहिले आफू नेकपा माओवादी केन्द्र नफर्किने भन्दै बाहिर आएका सबै खबरहरु भ्रामक र कपोलकल्पित रहेको बताएका छन् ।
एमाले स्थायी कमिटी सदस्य रहेका टोपबहादुर रायमाझीले आज एक वक्तव्य जारी गर्दै ‘पछिल्लो समय केही सञ्चार माध्यमहरुबाट मेरो नाम जोडेर नेकपा (माओवादी केन्द्र) मा फर्किन लागेको भनेर आएका आधारहीन, भ्रमपूर्ण एवं कपोकल्पित समाचारप्रति मेरो गम्भीर ध्यानाकर्षण भएको छ’ भनेका छन् । एमाले नेता रायमाझीले ‘पुष्पकमल दाहाल प्रचण्डमा रहेको कुर्सी मोह (पदलोलुपता), अस्थिरता, परिवारवाद एवं भ्रष्ट आचरणका कारण उहाँ राजनीतिक एवं वैचारिक रुपमा नै विचलित भई सिङ्गो पार्टीलाई विघटन एवं विसर्जनको दिशमा अगाडि बढाउँदै काङ्ग्रेस सभापतिको शरणमा पुगेको स्थिति छ’ भनि टिप्पणी गरेका छन् ।

नेता रायमाझीले सुशासनसहितको स्थिरतामार्फत्् मुलुकमा दीगो र चौतर्फी विकास एवं समृद्धि तथा नेपाली कम्युनिष्ट आन्दोलनको रक्षा एवं विकासका लागि आफूहरु केपी शर्मा ओलीको नेतृत्वमा रहेको कम्युनिष्ट पार्टीसँग एकता र सहकार्यको प्रक्रियामा नै रहेको बताएका छन् । उनले ‘औपचारिक रुपमा विघटनको घोषणा गर्न मात्र बाँकी रहेको माओवादी केन्द्रको आयु बढाउन गरिएका यी र यस्ता भ्रम एवं षड्यन्त्रपूर्ण झाँसामा नआउन सम्पूर्ण आदरणीय देशभक्त एवं प्रगतिशील महानुभावहरु र जनसमुदायमा हार्दिक अनुरोध र अपिल छ’ विज्ञप्तीमा भनेका छन् ।