धनगढी – सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले आज विश्वासको मत लिंदै हुनुहुन्छ । मुख्यमन्त्री भट्टले विश्वासको मत लिनु पर्ने भएपछि आज मङ्गलबार प्रदेशसभाबाट विश्वासको मत लिन लाग्नु भएको हो ।

नेकपा (माओवादी केन्द्र) नेतृत्वमा रहेको सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री त्रिलोचन भट्टले विश्वासको मत पाउने लगभग पक्का जस्तै छ । ५२ प्रदेशसभा सदस्य रहेको सुदूरपश्चिम प्रदेशमा मुख्यमन्त्रीलाई विश्वासको मतका निम्ति २७ मत भए पुग्दछ । माओवादी केन्द्रका १३ सदस्य रहेको प्रदेशसभामा एमाले खनाल–नेपाल पक्षका सदस्यले फ्लोर क्रस गरी मुख्यमन्त्री भट्टलाई मतदान गरे विश्वास प्राप्त गर्नेछन् । उक्त समुहमा १५ जना सांसद रहेका छन् । केन्द्रीय गठबन्धनको प्रभाव उक्त प्रदेशमा पनि परेकोले नेपाली काङ्ग्रेसका १२ मत पनि मुख्यमन्त्री भट्टकै पक्षमा जाने देखिन्छ । जनता समाजवादी पार्टीका दुई सांसद महन्थ ठाकुर पक्षमा रहेको बुझिन्छ ।

यद्यपि, नेपाली काङ्ग्रेसले अहिलेसम्म पक्ष–विपक्ष केमा मतदान गर्ने भन्नेबारे टुङ्गो लगाइसकेको छैन । जसपाले केन्द्रमा रहेका आफ्ना पार्टीका नेतासँगको छलफलपछि मात्र निर्णय लिने भनेको छ । जसपाका दुई सदस्य महन्थ ठाकुर पक्षका भएकाले मुख्यमन्त्री भट्टको पक्षमा मत दिने सम्भावना न्यून छ । यदि एमाले खनाल–नेपाल समूहले फ्लोर क्रस गरेमा मात्रै मुख्यमन्त्री भट्टलाई विश्वासको मत लिन समस्या हुनेछ । तर यो सम्भावना निकै न्यून देखिन्छ ।

एमालेले सुदूरपश्चिम प्रदेश कमिटीले भने ह्विप जारी गर्दै विश्वासको मतको विपक्षमा मतदान गर्न संसदीय दललाई निर्देशन दिएको छ । एमालेको ओली समूहका प्रदेश अध्यक्ष कर्ण थापा र सचिव राजेन्द्र रावलले संसदीय दलका नेता प्रकाशबहादुर शाह र प्रमुख सचेतक दुर्गा विकलाई विपक्षमा मतदान गर्नका लागि ह्विप जारी गर्न निर्देशनसहित पत्र पठाएका हुन् ।

अहिले प्रदेशसभामा सबैभन्दा ठूलो दल एमालेका सभामुखबाहेक २४, माओवादीका १३, कांग्रेसका १२ र जनता समाजवादी पार्टी नेपालका दुई सांसद छन् । माओवादी पक्षका मुख्यमन्त्री त्रिलोचन भट्टले मङ्गलबार बिहान विश्वासको मत लिने तयारी छ ।