काठमाडौं – सरकारका आज कोरोना भाइरसविरुद्धको खोप लगाउने व्यवस्था मिलाएको छ । चीनको अनुदानमा प्राप्त भेरोसेल खोपको मात्रा देशभर लगाइने व्यवस्था गरेको हो । स्थान विशेष हेरेर सरकारले कुनै ठाँमा ६० देखि ६४ वर्षसम्मका उमेर र केही जिल्लामा १८ तथा ५५ वर्षमाथिका लागि पनि सो खोप दिन लागेको सरकारको भनाइ रहेको छ । उपत्यकाका तीन वटै जिल्लामा भने ६० वर्षदेखि ६४ वर्ष उमेर समूहलाई मात्र दिने भएको छ ।

एकसाता अघि चिनियाँ अनुदानमा प्राप्त भएको १० लाख खोपको मात्रा आज मंगलबारदेखि दिन लागिएको हो । काठमाडौं उपत्यकाका तीन जिल्लामा ६० देखि ६४ वर्षसम्मकालाई खोप दिइने छ । अरु अधिकांश जिल्लामा ६२ देखि ६४ वर्षसम्मकालाई खोप दिने तयारी स्वास्थ्य मन्त्रालयले गरेको छ ।

सरकारले चीनको तिब्बतसँग जोडिएका जिल्लाका १८ वर्षमाथिका र उच्च पहाडी तथा हिमाली जिल्लाहरुमा यसअघि पहिलो मात्रा लगाउने क्रममा छुटेका ५५ वर्षमाथिकालाई पनि यो चरणको अभियानमा पहिलो मात्रा खोप दिइने स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

पहिलो चरणको खोप अभियानमा यसअघि खोप लगाउन छुटेका स्वास्थ्यकर्मी, मेडिकल कलेजका विद्यार्थी, इन्टर्न, ओजेटीमा रहेका नर्सिङ र पारामेडिक्सले पनि पहिलो मात्रा खोप लगाउन पाउने छन् । स्वास्थ्य मन्त्रालयका अनुसार अहिलेसम्म २१ लाख १३ हजार ८० जनाले खोपको पहिलो मात्रा र ७ लाख १५ हजार १ सय ६३ जनाले दोस्रो मात्रा लगाएका छन् ।