काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीबाट निष्काशन गरेका वरिष्ठ नेताद्वय झलनाथ खनाल र माधवकुमार नेपाल समूहलाई सिध्याउन विभिन्न अस्त्र प्रयोग गर्दै आइरहेका छन् । आफ्नो स्वार्थका लागि पार्टी एकता गर्ने नामबाट कार्यदल गठन र विज्ञप्तीका प्रचारवाजी निरन्तर भैरहेका छन् । खनाल–नेपाल समूहलाई कमजोर बनाउने प्रधानमन्त्री ओलीको यस्ता रणनीतिप्रति यो समूह जानकार त छ, तर अझै पनि ओलीले आफ्ना मागहरु सम्बोधन गरेर कारवाही फिर्ता गरिदिए हुन्थ्यो भन्ने उनीहरुको व्यवहारले देखाउँदै गएको छ । यो असन्तुष्ट समूहले ओलीलाई गालि गर्ने र मिटिङ्ग बस्ने बाहेकका ठोस एजेण्ठा प्रस्तुत गर्न सकेको देखिंदैन । ओली समूहले बोलाए दोस्रो तहका नेताहरु पुग्ने, छलफल गर्ने आउने र त्यसको ब्रिफिङ सुन्ने, फेरी अध्यक्ष ओलीले पार्टी एकताका नाममा जारी गरेको विज्ञप्तिलाई लिएर छलफल गर्ने र त्यसैमा सीमित हुँदै आएको देखिन्छ ।
खनाल–नेपाल समूहको यस्ता गतिविधिले यो समूह आपैंmमा ओलीलाई गलाएर एमालेमै बस्ने या अर्को नयाँ पार्टी खोल्ने भन्ने द्विविधामा रहेको छ । एमाले भित्रको मौलाउदो असन्तुष्टिलाई सरकारको नेतृत्व गरेका अध्यक्ष ओलीले खनाल–नेपाल समूहका दोस्रो तहका नेताहरुलाई पार्टीमा महत्वपूर्ण जिम्मेवारी सहित सरकारमा सामेल गराउनेसम्मका तुरुपहरु फाल्दै आएका छन् । उक्त समूहका दोस्रो र तेस्रो तहका कतिपय नेताहरुलाई ओलीले व्यवस्थापन गर्दै आएका छन् । पार्टी एकता जोगाउने नाममा ओलीले केही गर्छन् कि भनेर आशगर्दै, समय व्यतितगर्दै जाँदा खनाल–नेपाल समूहलाई नै क्षति भैरहेको विश्लेषण गर्न थालिएको छ ।
प्रधानमन्त्री ओलीले कुनैपनि हालतमा आफु सत्ता र पार्टी नेतृत्वमा टिकिरहन कुनै पनि कसर बाँकी राख्ने छैनन् भन्ने कुरा खनाल–नेपाल समूहले बुझेको हुुनुपर्ने हो । हिजै पनि प्रधानमन्त्री ओलीले यो समूहलाई सरकारकारमा समेटर लैजान अन्तिमसम्म प्रयास गरेका थिए । खनाल–नेपाल समूहलाई कमजोर बनाउन गृहमन्त्रालय सहितका केही मालदार मन्त्रालय दिएर मन्त्रिमण्डल विस्तार गर्ने योजनामा छन् । प्रधानमन्त्री ओलीले आफूसँगै राखेका ६ वटा मन्त्रालयमा माओवादीबाट एमालेमा आएका र पार्टीकै असन्तुष्ट खेमाका प्रभावशाली नेताहरुलाई समेटेर आइतबार थप मन्त्रीहरु नियुक्त गर्ने तयारीमा थिए । यसका लागि अधिकांश नामसमेत तयार भइसकेको थियो । तर अन्तिम समयमा आएर रोकिएको थियो । प्रधानमन्त्री ओलीले आइतबार अपरान्ह बालुवाटरमा आफु निटक नेताहरुलाई बोलाएर छलफल गरे । छलफलबाट एकताको प्रयास गर्ने निष्कर्ष निकाले पछि प्रधानमन्त्रीले हिजै साँझ पुनः पार्टी एकताका लागि भन्दै असन्तुष्ट पक्षलाई फकाउँदै आफु २०७५ जेठ २ को एमालेको सांगठनिक संरचनामा फर्किने उल्लेख गरेर विज्ञप्ती नै जारी गरे । आज त्यही विज्ञप्तीलाई लिएर खनाल–नेपाल समूहको छलफल भैरहेको छ ।
यसले के देखाउँछ भने एमालेको दुवै पक्ष न फुट्न चाहन्छ, न जुट्न नै । एक अर्कालाई घुँडा टेकाएर पार्टी एकता गर्न चाहेका छन् । तर एमाले भित्रको विवाद सैद्धान्तिक, वैचारिक र कार्यदिशामा देखिंदैन । दुवै पक्ष मदन भण्डारीको जनताको बहुदलीय जनवाद मै केन्द्रित छ । अहिलेको विवाद भनेको पार्टी भित्रको शक्तिसन्तुलनकै लडाईं हो । शक्तिसन्तुलनमा दुवै पक्षबीच सहमति जुट्न सके एमाले एक ठिक्का हुन सक्दछ । यदि पार्टी एक ठिक्का भएमा ओली नै प्रधानमन्त्री हुने छन् । उनकै नेतृत्वमा स्थानीय, प्रदेशीक र प्रतिनिधिसभाको निर्वाचन हुनेछ । उक्त निर्वाचनमा ओलीले खनाल–नेपाललाई ठूलो धोकाधाडी दिन सक्नेछन् । राजनीतिक रुपमा खनाल–नेपाललाई कत्लेआम गर्ने योजनाको श्रृङ्खला हो, एमाले भित्रको विवाद ।