काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओली असंधानिक र अनैतिक काम गर्ने पात्रका रुपमा दर्ज हुँदै जानुभएको छ । आफ्नो स्वार्थका लागि कुनै मानवीय सवेदनता र नैतिकताको अंश बाँकी नराखी जे मन लाग्यो त्यही गर्दै आउनु भएको छ । यसको पछिल्लो उदाहरण हो राजदूत नियुक्तिको विषय । विवाद र नैतिकताहिनको पर्यावाची बन्दै आउनु भएका प्रधानमन्त्री केपी शर्मा ओलीले आफन्तहरुलाई राजदूत बताउन शैक्षिक योग्यता लगायतका न्यूनतम योग्यता पनि नपुगेकालाई नियुक्ति गर्न नियम नै परिवर्तन गर्नुभएको छ । विगतमा प्रधानमन्त्री ओलीको जुन खालको छवि थियो त्यो आफैंले पखाल्दै जानुभएको छ ।

सरकारले विगतमा मन्त्री भइसकेका उम्मेदवारको नियुक्ति हकमा अहिलेसम्म आवश्यक मानिएको स्नातक तहको योग्यता नचाहिने गरी निर्देशिका संशोधन गरेको छ । सरकारले खासगरी राजनीतिक तथा गैर–कुटनीतिक कोटाबाट राजदूतका योग्यता र क्षमता कमजोर भएको प्रश्न उठेका बेला गोप्य रुपमा निर्देशिका संशोधन गरेको छ । प्रधानमन्त्री ओलीले यसपटक आफ्ना भक्त पूर्वमन्त्री युवराज कार्कीलाई बहराइनको राजदूत बनाउनकै लागि सरकारले निर्देशिक संशोधन गरेको छ ।

पछिल्लो ११ मुलुकमा राजदूत नियुक्ति सिफारिस गर्नुभन्दा पहिले गत वैशाख २५ गते बसेको मन्त्रिपरिषद् बैठकले विगतमा मन्त्री भइसकेका उम्मेदवारको नियुक्ति हकमा स्नातक तहको अध्ययन नचाहिने गरी सांशोधिन निर्देशिका पारित गरेको गरेको थियो ।

वैदेशिक नीति निर्माणदेखि दुई देशबीचको सम्बन्ध विस्तार र त्यसबाट राष्ट्रले लिनसक्ने फाइदालाई ध्यान दिएर विगतमा राजदूत नियुक्त गर्ने परम्परालाई प्रधानमन्त्री ओलीले लत्याउनु भएको छ । राजदूत नियुक्तिसम्बन्धी यसअघिको निर्देशिकामा न्यूनतम स्नातक तहको शिक्षा प्राप्त गरेका, सम्बन्धित मुलुकको भाषासहित अन्य विषयमा जानकार भएकालाई राजदूतमा सिफारिस गर्ने व्यवस्था गरिएको थियो । तर मन्त्रिपरिषद्ले पछिल्लो पटक सिफारिस गरेका ११ राजदूतमध्ये ९ जना राजनीतिक कोटाबाट नियुक्ति गरिएका छन् । यी सबै प्रधानमन्त्री केपी शर्मा ओलीको दबाबमा निर्देशिका संशोधन गरेर गरिएको हो । यसअघि आफ्नालाई राजदूत बनाएर पठाउने प्रवृति थियो भने यसपटक आफ्नालाई राजदूत बनाएर पठाउन निर्धारित योग्यता नै परिवर्तन गरेको हो ।
प्रधानमन्त्री ओलीले अन्तर्राष्ट्रिय जगतमा आफ्नो साख त गिराउँदै गएका छन् नै, उनले नियुक्ति गर्ने राजदूतको क्षमताले समेत देशको परराष्ट्र मामला नै गिर्दै र बदनाम हुने गरेको छ ।