काठमाडौं । आज त्रिभूवन विश्वविद्यालय कीर्तिपुरको प्राङ्गण रहेको आयुर्वेद अस्पतालबाट ५२ जना बालबालिकाहरु कोरोना भाइरसको सङ्क्रमणबाट निको भएर अस्पतालबाट डिस्चार्ज भएका छन् । ति सबै बालबालिकाहरु सिफल र नक्साल स्थित बालमन्दिरका हुन् । बालगृहमा बस्दै आएका उनीहरुलाई १० दिन अघि कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएपछि उपचारार्थ कीर्तिपुर आयुर्वेद अस्पतालमा भर्ना गरिएको थियो ।
कीर्तिपुरको आयुर्वेदिक अस्पतालको आइसोलेसन सेन्टरमा भर्ना भएका सबै ५२ बालबालिकाहरु आज शनिबार बालमन्दिर फर्किएका छन् । अस्पतालबाट डिस्चार्ज हुने बेलामा स्वास्थ्यकर्मीहरुले नाचगान गरेर बालबालिकाहरुलाई बिदा गरेका थिए । कोरोना सङ्क्रमणलाई जितेर बालमन्दिर फर्किन पाएकोमा बालबालिकाहरु हर्षित देखिन्थे । यो आयुर्वेद अस्पतालमा कोरोना भाइरस सङ्क्रमित बिरामीहरुको सफल उपचार हुँदै आएको छ ।